काठमाडौ, श्रावण १५ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल अन्य दलहरूसँग प्रधानमन्त्री चुनावमा आफूलाई सघाउन अनुनय गरिरहँदा उपाध्यक्ष बाबुराम भट्टराई राजधानीनजिक ककनीको एक निजी घरमा बसेर पुस्तक पढिरहेका थिए । उनले त्यहाँ दुई पुस्तक पढे, 'लिडरसिप सेक्रेट अफ गेङघस खान' र 'ह्वाट इज माओइज्म एन्ड एस्से ।'
पहिलो पुस्तकको सार कुनै पनि नेताले ऐतिहासिक आवश्यकता बहन गर्न सक्नुपर्छ भन्ने हो भने दोस्रो पुस्तक नेपाल र भारतका माओवादीसम्बन्धी निबन्ध र अन्तर्वार्ताको सँगालो हो । संयोगै मान्नुपर्छ, नेपालमा राजनीतिक किचलो र आगामी सरकारको नेतृत्वबारे प्रश्न उठिरहेका बेला एक मंगोलियन निरक्षर तानाशाहले देशलाई कसरी शक्तिशाली बनाए र साम्राज्य फैलाए भन्ने पुस्तक भट्टराईले छाने । 'खान पुस्तकमा नेताले ऐतिहासिक आवश्यकता पूर्ति गर्न सक्नुपर्छ भन्ने सार छ,' उनले कान्तिपुरसँग भने, 'हामीले पनि त्यस्तो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ ।'
भट्टराई सहमतीय सरकारको पक्षमा छन् भने दाहाल बहुमतीय भए पनि आफ्नो नेतृत्वमा सरकार बनाउने पक्षमा कम्मर कसेर लागेका छन् । आफू निर्वाचनमा होमिएका बेला गत शनिबार भट्टराईले 'बहुमतीयभन्दा सहमतीय सरकारमा जोड दिए' पछि दाहालले 'असहयोग' को भावना प्रस्टसँगै बुझे । कुनै बेला सँगसँगै हिँड्ने दाहाल र भट्टराईबीच यतिखेर औपचारिक सम्बन्ध मात्र छ । दाहाल मत जुटाउने अभियानमै व्यस्त छन् भने भट्टराई ककनीबाट बुधबार फर्केका छन् । भट्टराईले भने आफू अध्यक्ष दाहालसँग सल्लाह गरेर ककनी गएको जवाफ दिए । 'म अध्यक्षसँग सल्लाह गरेरै गएको थिएँ,' उनले भने, 'उहाँहरू पनि त्यता जाने योजना थियो, भ्याउनु भएन ।'
भट्टराईले ककनीबाट फर्केकै बेलुका बीबीसी नेपाली सेवासँग अन्तर्वार्ता दिँदै सहमतीय सरकारले मात्र शान्ति र संविधान निष्कर्षमा पुग्ने दोहोर्याए । त्यसको चार दिनअघि कान्तिपुरको अन्तर्वार्तामा उनले बहुमतीय खेलमा लाग्न नहुने धारणा राखेका थिए । 'अझै ३ सय १ को खेलमा होइन, राष्ट्रिय सहमतिको सरकार बनाउन लाग्नुपर्छ,' उनको भनाइ थियो । उनको यो अभिव्यक्ति दाहाललाई 'अपि्रय' लागेपछि दुई नेताबीच सम्बन्ध चिसिएको हो ।
शान्ति प्रक्रियामा आइसकेपछि 'नङ र मासु' जस्तो भएका उनीहरूबीच अचेल भने औपचारिक सम्बन्ध भएको स्रोतले जनाएको छ ।
दाहाल-भट्टराई...'दुवै नेताबीच सामान्य सम्बन्ध छ,' दाहालनिकट एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, 'हार्दिक सम्बन्ध छैन भने पनि हुन्छ ।' दुई नेताबीच सम्बन्ध गाढा बनाउने प्रयास जारी रहेको स्रोतको भनाइ छ ।
२०६१ कात्तिकमा भट्टराईले अध्यक्ष दाहाललाई सम्बोधन गरी केन्द्रीय कार्यालयमा चारबुँदे फरक मत दर्ज र त्यसको एक महिनापछि मंसिरमा केन्द्रीय समितिमा असहमतिका १३ बुँदा राख्दा उनी कारबाहीमा परेका थिए । २०६२ असोजमा भएको चुनबाङ बैठकमा कारबाही फिर्ता भएको थियो ।
प्रधानमन्त्री निर्वाचनमा भट्टराईले आफूलाई सहयोग नगरेको दाहाल पक्षको आरोप छ । तर भट्टराईले उक्त आरोपको खण्डन गरेका छन् । 'अध्यक्षलाई विजयी गराउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा खटिरहेको छु' भट्टराईले भने, 'मेरो भनाइ पार्टीको नेतृत्वमा बहुमतीय प्रक्रियाभित्रबाट पनि सहतीय सरकार बनाउन सकिन्छ भन्ने हो ।' उनले दाहाल र आफूबीच 'राम्रो सम्बन्ध' भएको दाबी गरे ।
दाहालनिकट पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले दुई नेताबीच दरार पैदा नभएको दाबी गरे । 'दुई नेताबीच सम्बन्ध ठीकै छ,' उनले भने, 'बाहिर चिसिएको जस्तो देखिएको मात्रै हो, हाल सकारात्मक सम्बन्ध छ ।' स्रोतका अनुसार बिहीबार केन्द्रीय कार्यालयको बैठकपछि दाहाल र भट्टराईबीच छुट्टै गोप्य छलफल भएको थियो । दाहाल-पुत्री रेणुले अरूलाई बढी विश्वास गर्नु बुबाको कमजोरी रहेको बताइन् । 'उहाँको कमजोरी अलि बढी विश्वास गर्नुहुन्छ,' उनको भनाइ छ, 'आँखा चिम्लेर विश्वास गर्नुहुन्छ अनि धोका पाउनुहुन्छ ।' तर दाहालले दुई वरिष्ठ उपाध्यक्षद्वय मोहन वैद्य र भट्टराईलाई कमै विश्वास गरेको पाइन्छ । दुई वर्षअघि दाहाल र वैद्यबीच खरिपाटी बैठकमा सम्बन्ध चिसिएको थियो भने हाल दाहाल-भट्टराईबीच त्यस्तै छ ।
रेणुले बहुमुखी स्वभावका कारण बेला-बेलामा गलत व्याख्या हुने गरेको बताएकी छन् । 'उहाँको यो स्वभावलाई मान्छेले गलत व्याख्या गर्ने मौकाको रूपमा प्रयोग गरेका छन्,' उनले पार्टीभित्रकै अन्य नेतातिर संकेत गर्दै भनिन् ।
खनाल-नेपाल संवाद टुट्यो
दुर्गा खनाल
काठमाडौं- एमालेभित्र प्रधानमन्त्री चयन प्रकरणले शीर्ष नेताको आपसी सम्बन्ध पनि चिसिएको छ । प्रमुख दुई नेता अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री माधवकुमार नेपालको सम्बन्ध सुखद छैन । साउन ५ को पहिलो चुनावपछि उनीहरूबीच राजनीतिक विषयमा छलफल र संवाद भएकै छैन । साउन ७ गते पुष्पलाल स्मृति दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनीहरू एउटै मञ्चमा उपस्थित हुँदा सामान्य औपचारिकताबाहेक खासै कुराकानी भएन ।
पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनले शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा खनाललाई प्रमुख अतिथि र नेपाललाई विशिष्ट अतिथिको रूपमा निम्ता गरिएको थियो । खनाल कार्यक्रममा गए पनि प्रधानमन्त्री नेपालले शुभकामना मात्र पठाए । 'पार्टीको बैठक बसेको भए त्यो बेला भेटघाट हुन्थ्यो होला,' एक नेता भन्छन्, 'बैठक पनि नबसेकाले भेटघाट हुने संयोग मिलेन ।'
उनीहरूबीच सम्बन्ध चिसिनुको पछिल्लो कारण हो, प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता । झन्डै दुई तिहाइ बहुमत पुगेको अवस्थामा खनाल उम्मेदवारी फिर्ता लिन नहुने पक्षमा थिए । उनी स्थायी कमिटीको बैठक बसेर ४ सय १ को समर्थन नभएको अवस्थामा उम्मेदवारी नदिने भन्ने निर्णय परिमार्जनको पक्षमा थिए । उम्मेदवारी दिएको अवस्थामा बैठक हलबाट अपुग मत आउने उनको अनुमान थियो ।
माओवादीको सर्तयुक्त पत्र र ४ सय १ को स्पष्ट समर्थन नहुन्जेल उम्मेदवारी दिन नहुने अडान नेपाल पक्षबाट आयो । यही अडानका कारण पार्टीले दुई तिहाइ मतको सरकारको नेतृत्व गर्ने अवसर गुमाएको खनाल पक्षको निष्कर्ष छ ।
तर नेपाल भने आफूले बहुमतको सरकारबाट सहमतिका लागि राजीनामा दिएकाले स्पष्ट आधार नहुन्जेल फेरि सरकारको नेतृत्वमा जान नमिल्ने अडानमै रहे । यो घटनाले दुई नेताको दूरी बढाउन मलजल गर्यो ।
स्थायी समिति सदस्य भरतमोहन अधिकारी भने दुवै नेता राष्ट्रिय सहमतिको पक्षमा उभिएकाले यो विषयमा उनीहरू एक ठाउँमा रहेको दाबी गर्छन् । 'मैले कुरा गर्दा दुवै नेता सहमति कायम गर्नुपर्छ भन्ने पाएको छु,' उनले भने, 'यो विषयमा विमति छैन ।' आफू पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदाहँुदै पनि कांग्रेससहितको २२ दलीय गठबन्धनमा नेपाललाई प्रधानमन्त्रीका लागि सघाएको खनालको बुझाइ छ । तर आफूले नेतृत्व गरेको सरकारलाई अध्यक्ष खनालले कहिल्यै सघाएनन् भन्ने बुझाइ नेपालको छ ।
खनालले बहुमतीय सरकारले मुलुकका समस्या समाधान नगर्ने भन्दै सार्वजनिक रूपमै भाषण गर्दै हिँडेपछि नेपालले यसलाई आफ्नो सरकार ढाल्ने प्रपञ्चको रूपमा बुझे ।
सरकार सञ्चालनका लागि पार्टीले खनालको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको थियो । समितिमा नेपाल, महासचिव ईश्वर पोखरेल र सचिव विष्णु पौडेल सदस्य थिए । '१४ महिनासम्म सरकार चल्दा खनालले एक दिन पनि समितिको बैठक गरेनन्,' नेपालनिकट एक नेताले भने, 'सत्तारूढ प्रमुख दलको हैसियतमा अन्य दलहरूसँग सरकार सञ्चालनबारे छलफल पनि गरेनन् ।'
खनाल पक्षीय नेताहरूका अनुसार नेपालले पनि प्रधानमन्त्री भएपछि खनालसँग कहिल्यै छलफल र समन्वयको आवश्यकता महसुस गरेनन् । 'माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसम्मको डेरामा पटक-पटक पुग्न भ्याए,' खनालनिकट नेताले भने, 'सरकारको विषय त परै जाओस् खनाल बिरामी हुँदासमेत उनलाई भेट्न गएनन् ।'
दुई नेताहरूबीचको सम्बन्धलाई माओवादी र कांग्रेसलाई हेर्ने दृष्टिकोणले समेत प्रभावित पारेको छ । खनाल तुलनात्मक रूपमा माओवादीसँग 'एकता र संघर्ष' को लचिलो नीति राख्नुपर्ने पक्षमा छन् भने नेपाल राजनीतिक रूपमा माओवादी रूपान्तरित नहुन्जेलसम्म सहकार्य र एकता गर्न नहुने पक्षमा छन् । नेपाल कांग्रेससँगको सम्बन्ध र सहकार्य सुदृढ पार्नुपर्ने पक्षमा छन् भने खनालचाहिँ माओवादीसँगको 'वाम गठबन्धन' मा रुचि राख्छन् । केही दिनअघि खनालले एउटा पुस्तक विमोचन कार्यक्रममा 'वाम एकता' को कुरासमेत उठाएका थिए ।
खनाल र नेपालबीच शीत युद्घ आठौं महाधिवेशनबाट चर्किन थालेको हो । नेपाल आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्न चाहन्थे तर खनालले चुनाव लड्ने अडान लिए । खनालले आफूलाई छोड्दा अर्का नेता केपी ओलीले पनि समर्थन गर्ने उनको अनुमान थियो । तर खनालले नछोडेपछि नेपाल असन्तुष्ट भए ।
खनाल अध्यक्षमा निर्वाचित भएपछि नेपाल र नेता ओली एक ठाउँमा उभिए । त्यसले गर्दा पोलिटब्युरो सदस्य चयन गर्ने बेलामा खनाल पक्षका नेताहरू हारे । यस घटनमा नेपालले सहयोगको आश्वासन दिएर घोका दिएको रूपमा खनालले बुझे । उनीहरू निकटका अनुसार खनाल र नेपालको सम्बन्ध न त घनिष्ठ थियो न दाउपेचपूर्ण नै । झन्डै साढे तीन दशक एउटै पार्टीमा रहेका उनीहरूबीचको सम्बन्ध औसत थियो ।
२०३२ मा दुवै नेता क्रान्तिकारी कोअर्डिनेसन केन्द्रका संस्थापक थिए । शिक्षक पृष्ठभूमिका खनाल र बैंकको जागिरे पृष्ठभूमिका नेपालभन्दा अघिदेखि सक्रिय राजनीतिमा लागेका थिए । तर खनालभन्दा नेपालको भूमिका लामो समयसम्म प्रभावशाली रह्यो ।
नेपाल २०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको हत्यापछि लगातार १५ वर्ष महासचिव बने । नेपाल भण्डारीको हत्याका कारण महासचिवमा आएका थिए । उनी महासचिव हुँदा खनाल विदेश विभाग प्रमुखका रूपमा कार्यरत थिए ।
एमाले लोकपि्रय भएका बेलामा नेपालले नेतृत्व लिने अवसर पाएका थिए । तर खनालले नेतृत्व लिँदा एकताका ठूलो पार्टी भएको एमाले तेस्रो पार्टीको रूपमा सीमित भएको थियो । यो कुरालाई लिएर उनीहरूबीच पार्टीका बैठकमा घोचपेच भइरहन्छ । गत असार २२ को केन्द्रीय कमिटी बैठकमा पनि नेपालले आफ्नो सरकारलाई असहयोग गरी संगठन राम्ररी नचलाएको आरोप खनाललाई लगाए । खनालले '१५ वर्ष पार्टी चलाएर तेस्रो स्थानमा' पुर्याएको पनि देखियो' भन्दै जवाफ दिएका थिए ।
दुई नेताबीचको व्यक्तिगत स्वभावले पनि उनीहरूबीच सम्बन्धलाई असर गरेको छ । 'खनाल राजनीतिलाई व्याख्या, विश्लेषण, सिद्घान्त र दर्शनसँग जोडेर बुझ्छन् । नेपाल राजनीतिलाई अंकगणितीय रूपमा बुझ्छन् । पार्टीभित्र नेपाल चाहेको बेलामा दौडधुप, छिटो निर्णय र समन्वय गर्ने क्षमता भएको व्यक्तिका रूपमा चिनिन्छन् । १५ वर्ष महासचिव भएकाले कार्यकर्ता तहमा उनको प्रभाव हटिसकेको छैन । खनाल बढी सैद्धान्तिक भएकाले छिटो निर्णय गर्न नसक्ने र अरूसँग कमै सम्पर्कमा रहन्छन् । उनको व्यक्तिगत स्वभाव रुखो छैन । खनालको पछाडि पूर्वमाले पृष्ठभूमिका नेताहरू छन् भने नेपाललाई केपी ओली समूहको समर्थन छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks