बैंकक, श्रावण १० - विदेशी पर्यटकको ताँती देख्दा यो सहर भर्खरै हिंसात्मक आन्दोलनबाट गुजि्रएको थियो भन्ने पत्याउन मुस्किल पर्छ । राजधानी मात्र होइन फुकेट, पताया, रायोङ, चियाङमाइलगायत थाइल्यान्डका प्रमुख पर्यटकीय केन्द्रहरूमा पश्चिमा र एसियाली पर्यटकहरूको ठूलै हूल पुगिरहेका छन् ।
केही अघि मात्र हिंसात्मक आन्दोलनमा फसेको सहरलाई अहिले पनि ट्राभल पत्रिकाहरूले घुमन्तेहरूको मतको आधारमा एसियाको सबैभन्दा उत्कृष्ट सहर बताइरहेका छन् ।
सन् २००९ मा थाइल्यान्डले १ करोड ३० लाखभन्दा बढीको संख्यामा पर्यटक भित्र्याएको थियो । 'यो वर्ष १ करोड ४५ लाख पर्यटकलाई स्वागत गर्ने लक्ष्य छ,' हालै यहाँ आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रममा पर्यटन तथा खेलकुद मन्त्री चुम्फोल सिल्पार्काले भने ।
पछिल्लो पाँच वर्षमा थाइल्यान्ड राजनीतिक अस्थिरताको सिकार बनिरहेको छ । हिंसात्मक बनेको 'रेडसर्ट' आन्दोलनलाई सरकारले नियन्त्रणमा लिएको डेढ महिना मात्र बितेको छ । उक्त आन्दोलनमा कम्तीमा ८० जनाको ज्यान जानुका साथै राजधानीस्थित मुलुककै ठूलो सपिङ मल, स्टक एक्सचेन्जमा आगजनी भएको थियो ।
राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव पर्यटन व्यवसायमा पर्न नदिन सम्बद्ध निकाय सक्रिय भएका छन् । टुरिजम अथोरिटी अफ थाइल्यान्ड
-टिएटी) तथा थाई एयरवेजले हालै संसारभरिका ट्राभल एजेन्ट र सञ्चारकर्मी गरी ५ सय जनालाई मुलुकमा निमन्त्रणा गरी आश्वस्त बनाउने प्रयास गरेको थियो । थाइल्यान्ड टुडे नामको प्रवर्द्धन कार्यक्रमबाट सरकारले अपेक्षा गरेको संख्यामा पर्यटक भित्रिने विश्वास लिइएको छ ।
'सम्पन्नताका लागि पर्यटन हाम्रो प्राथमिकता हो,' कार्यक्रममा पर्यटन मन्त्रीले भने । पर्यटन व्यवसायका लागि पाँच वर्ष सडक, सञ्चारलगायतका पूर्वाधारमा दिल खोलेर लगानी गरिने उनले बताए । तर सरकारले स्थितिलाई पूर्ण नियन्त्रणमा लिएको देखिन्छ । पुनः हिसांत्मक घटना रोक्न सरकारले अधिकांश ठाउँमा संकटकाल जारी राखेको छ ।
तर थाइल्यान्ड पर्यटकका लागि पूर्ण सुरक्षित रहेको अधिकारीहरू दाबी गछ्न् । पर्याप्त दर्शनीय पर्यटकीय थलो भएको थाइल्यान्डका बासिन्दा अतिथि सत्कारका लागि विख्यात मानिन्न ।
सन् २००६ मा थाक्सिन सिनावात्राको निर्वाचित सरकारलाई सैनिक कुमार्फत अपदस्त गरिएयता थाइल्यान्ड राजनीतिक अस्थिरतामा फसेको छ । सन् २००७ मा सम्पन्न निर्वाचनमा पुनः निर्वाचित सिनावात्रा समर्थित सरकारलाई एक वर्षमै 'पहेलो सर्ट' सडक आन्दोलनमार्फत अपदस्त गरिएको थियो । त्यसयता सिनावात्रा समर्थकहरू सडकबाटै सत्तामा पुग्न प्रयासरत छन् ।
तर राजनीतिक संकटको प्रभाव पर्यटन व्यवसायमा पर्न नदिन टीएटीलगायतका सम्बद्ध निकाय चनाखो रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् । थाइल्यान्डमा पर्यटन उद्योग अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको छ । थाइल्यान्डको कुल गार्हस्थ उत्पादनमा पर्यटन व्यवसायको हिस्सा ८ प्रतिशत रहेको छ ।
अस्थिरताको फाइदा उठाउँदै उसका क्षेत्रीय प्रतिस्पर्धी सिंगापुर र कम्बोडियाले थाइल्यान्ड जाने पर्यटकलाई आफूतिर तान्न गरेको प्रयास शान्ति सुव्यवस्था कायम भइसकेकाले विफल हुने अधिकारीहरू विश्वास व्यक्त गर्छन् ।
पछिल्ला दिनमा भएका राजनीतिक घटनाक्रमको प्रभाव थाइल्यान्ड जाने दक्षिण एसियाली पर्यटकको संख्यामा नपरेको टीएटीको दिल्लीस्थित कार्यालयले जनाएको छ । सन् २००९ मा ५ लाख ९४ हजार भारतीयले थाइल्यान्ड भ्रमण गरेका थिए । यो वर्षको ६ महिनामा पनि करिब ३ लाख भारतीय थाइल्यान्ड पुगिसकेकाले संख्या घट्ने सम्भावना देखिँदैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks