Loving nepal news

Monday, July 26, 2010

काँग्रेसद्वारा एमालेबाट समर्थन माग * प्रधानमन्त्रीका प्रत्यासी पौडेल खनाल निवासमा * अमेरिकी राजदूतले पनि खनाललाई भेटे

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण ११ - नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पक्षमा समर्थन गर्न नेकपा एमालेलाई आग्रह गरेको छ । काँग्रेसबाट प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले मंगलबार एमाले अध्यक्ष झलनाथ खनाललाई उनको निवासमा भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पदका लागि भएको दुईवटा निर्वाचनमा एमाले तटस्थ बसेको थियो । साउन १७ गते हुन लागेको निर्वाचनमा आफूलाई सहयोग गर्न काँग्रेसले एमाले नेतृत्व समक्ष आग्रह गरेको हो । एमालेले राष्ट्रिय सहमतिबाट प्रधानमन्त्रीको चयन हुनुपर्ने अडान राख्दै सहमतिको सरकार नबनेसम्म मतदान नगर्ने निर्णय गरेको छ । एमालेको समर्थन बिना काँग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । एमाले भित्र संस्थापन पक्ष उक्त अडानमा यथावत रहेको छ भने प्रधानमन्त्री माधव नेपाल र केपी ओली पक्षधरले प्रधानमन्त्रीमा काँग्रेसलाई समर्थन गर्नुपर्ने पक्षमा लबिङ सुरु गरेको छ ।

पौडेलसंगको भेटमा एमाले अध्यक्ष खनालले शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको बताएका थिए । उनले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भूमिका निर्वाह गर्न समेत पौडेललाई आग्रह गरेका थिए ।

नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले पनि एमाले अध्यक्ष खनाललाई भेटेका छन् । खनाल निवासमा भएको भेटमा राजदूत डेलिसीले सरकार निर्माण लगायतका विषयमा चासो राखेका थिए । उनले चाँडै सहमति निर्माण गरी सरकार गठन गर्न खनाललाई आग्रह गरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks