विदेशमा ४ सय नेपाली कामदारको मृत्यु
कान्तिपुर संवाददाता
काठमाडौ, अषाढ ३२ - एक वर्षको अवधिमा कामको सिलसिलामा बिदेसिएका करिब ४ सय नेपाली कामदारले ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारीमा जानेको संख्या लगातार बढिरहेका बेला वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले चालू आर्थिक वर्षको असार ३० सम्ममा ३ सय ९६ कामदारले ज्यान गुमाएको जनाएको हो ।
बोर्डका निर्देशक स्थानेश्वर देवकोटाले सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने गरेको बताए । सबैभन्दा बढी साउदी अरबमा मारिएका छन् ।
'साउदीमा १ सय २५ जनाको मृत्य भएको छ,' उनले भने, 'यो सबैभन्दा बढी हो ।' धेरै कामदार मृत्यु हुने दोस्रो मुलुकमा कतार छ । यस अवधिमा कतारमा १ सयको मृत्य भएको छ । यस्तै मलेसियामा ९६ जनाको ज्यान गयो । संयुक्त अरब इमिरेट्समा ३६ जनाले ज्यान गुमाए । दुबईमा मृत्यु हुनेको संख्या ९ छ ।
'यस अवधिमा बहराइनमा ६ जनाको मृत्यु भएको छ,' निर्देशक देवकोटाले भने, 'ओमान र लेवनानमा मृत्यु हुनको संख्या ५/५ छ ।' कुवेतमा २ जनाको मृत्यु भएको छ । बाँकी कामदारको मृत्यु रोजगारको सिलसिलामा दक्षिण कोरिया, इजरायललगायत मुलुकमा भएको हो ।
काम र त्यहाँको जीवन शैलीबारे राम्रो जानकारी नहुँदा धेरैले ज्यान गुमाउने गरेको उनले बताए । 'साउदीमा धेरै नेपाली छन्,' उनले भने, 'त्यहाँको तापक्रम उच्च भएकै कारण धेरैले ज्यान गुमाउनुपरेको हो ।' साउदीमा ५५ डिग्री सेल्सिएससम्म तापक्रम पुग्ने भएकाले उच्च तापक्रम र कामदार बस्ने कोठामा हुने एयर कन्डिसनर -एसी) चलाउन नजान्दा पनि धेरैले ज्यान गुमाउने गरेका छन् ।
सवारी व्यवस्थाबारे जानकारी नहुँदा गाडीको ठक्कर र ठूला भवन निर्माणको काममा सावधानी अपनाउन नसक्दा पनि खसेर ज्यान जाने गरेको छ । कतार र मलेसियामा पनि जोखिम काम र सवारी नियमको जानकारी नभएर धेरैले ज्यान गुमाउने गरेका छन् ।
बोर्डको तथ्यांक आधिकारिक रुपमा बिदेसिएका व्यक्तिको मात्र हो । अवैधानिक रूपमा जाने र बोर्डमा जानकारी नगराउने व्यक्तिको मृत्यदर यो भन्दा बढी हुन सक्ने उनले बताए ।
'विमानस्थलबाट आएको जानकारीअनुसार अहिले दैनिक ३ जनाका दरले मृत्यु हुने गरेको छ,' उनले भने, 'वैधानिक तरिकाले बिदेसिनेभन्दा दोब्बर अवैधानिक तवरले जाने कामदारको मृत्यु हुने गरेको पाइएको छ ।'
गत वर्षको तुलनमा पनि यस वर्षको संख्या बढी हो । बोर्डले ०६५ फागुनदेखि काम सुरु गरेपछि त्यस आवको अन्तिम ६ महिनामा करिव १ सय २५ कामदारले ज्यान गुमाएका थिए । यस आधारमा कुल संख्या २ सय ५० को हाराहारीमा हुन्छ । 'त्यसबेला बोर्डबारे धेरैलाई जानकारी नभएकाले सूचना आउन नसकेकाले पनि असर परेको हो,' देवकोटाले भने ।
कामका सिलसिलामा विदेश जाँदा ज्यान गुमाएका नेपालीमध्ये बोर्डले आव ०६६/६७ मा सबैभन्दा बढी ६० ले कात्तिकमा ज्यान गुमाएको जनाएको छ । सबैभन्दा कम भदौमा १६ जनाले ज्यान गुमाएका हुन् ।
४ करोड आर्थिक सहायता वितरण गत वर्षको असारदेखि यस जेठसम्ममा बोर्डले ३ सय ५५ जनालाई १ लाखका दरले आर्थिक सहायता दिएको छ । त्यस अवधिमा ५१ जनालाई ९९ हजार रुपैयाँका दरले सहयोग गरेको छ । यिनीहरूलाई कुल ४ करोड ५ लाख ४९ हजार रुपैयाँ प्रदान गरिएको देवकोटाले बताए ।
बोर्डले अंगभंग भएका ३ जना र सामान्य घाइते भएको २७ जनालाई सहयोग गरेको छ । यस अवधिमा काम गर्न गएको मुलुकबाट नेपाल आएको १५ जनाको शव जिल्लामा पठाइएको र ८ जनाको शव विदेशबाट ल्याइएको बोर्डको भनाइ छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks