काठमाडौ, श्रावण १५ - ६ महिनायता ऋण दिन बन्द गरेको लुम्बिनी बैंक यतिखेर विशेष योजनासहितको घरकर्जा योजना बजारमा ल्याउने तयारीमा छ । यति मात्रै होइन बैंकले केही पर्यटन व्यवसायमा ऋण लगानी पनि गरेको छ ।
लुम्बिनी मात्रै होइन प्रायः सबै बैंक, वित्तीय संस्था ऋण प्रवाह गर्ने तयारीमा छन् । बैंकहरूमा निक्षेप बढेर कर्जा निक्षेप अनुपात सहज हुन थालेपछि ऋण प्रवाह सुरु हुन थालेको हो । कर्जा निक्षेप अनुपात बैंकमा जम्मा भएको रकम र प्रवाह भएको ऋणबीचको अनुपात हो । यसअघि खर्च गर्न योग्य रकम तरलता अभाव भएपछि ऋण प्रवाह बन्द थियो । 'निक्षेप बढ्न थालेपछि कर्जा दिन सुरु गरेका हौं,' लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत सोहनदेव पन्तले भने ।
पछिल्लो १ महिनामा सर्वसाधारणले बैंकमा राख्ने रकम निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ । पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा मात्रै ६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । माघदेखि जेठसम्म ५ खर्ब ८० अर्ब रुपैयाँको हाराहारीमा रहेको निक्षेप असारमा बढेको हो । यसले बैंकहरूको कर्जा निक्षेप अनुपातलाई ८२ प्रतिशतमा झारेको छ । ६ महिनाअघि यो अनुपात झन्डै ९० प्रतिशत पुगेपछि राष्ट्र बैंकले ऋण लगानीलाई निरुत्साहित गरेको थियो । 'तरलताको अवस्था सहज हुन थालेपछि ब्याज घटाउनुपर्ने दबाब पनि आउन थालेको छ,' पन्तले भने, 'तर पछिल्लो ६ महिनामा निक्षेप आकृष्ट गर्न उच्च ब्याज दिँदा लागत बढेकाले घटाउन कठिन भइरहेको छ ।'
बैंकहरूले मुद्दती खातामा १२/१३ प्रतिशतसम्म ब्याज दिन थालेका थिए । बैंकहरूले बढाएको ब्याजदरका कारण २ प्रतिशतसम्म पुँजीको लागत -कस्ट अफ फन्ड) बढेको आकलन पन्तको छ । बैंकहरूले साधारणतया १ वर्षे मुद्दती निक्षेप लिएकाले कम्तीमा १ वर्षसम्म वाचा गरेअनुरूप ब्याज दिनुपर्ने हुँदा कर्जाको ब्याज कम गर्न कठिन भएको बैंकर्स बताउँछन् । 'लुम्बिनीमा त २ दशलमव ५ प्रतिशतसम्म कस्ट अफ फन्ड बढेको छ,' बैंकर्स संघका सदस्यसमेत रहेका पन्तले भने । कुमारी बैंकले बचत खातामा समेत १० प्रतिशत ब्याज दिइरहेको छ ।
तरलतामा भइरहेको निरन्तर सुधार भइरहे प्रतिस्पर्धाका कारण ब्याजदर घटाउन दबाब पर्न सक्ने बैंकर बताउँछन् । ६ महिनाअघि बजारमा २३ अर्ब रुपैयाँ रिपोमार्फत प्रवाह गरेको केन्द्रीय बैंकले यस साता उल्टै बजारबाट रकम तान्न थालेको छ । राष्ट्र बैंकले यसै साता रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तानेको छ । '५ अर्बका लागि साढे ८ अर्बसम्मको अफर आयो,' केन्द्रीय बैंकका एक अधिकारीले भने ।
सहज ऋणको उपलब्धताका लागि गत महिनाजस्तै निरन्तर निक्षेपको वृद्धि आवश्यक रहेको बैंकहरू बताउँछन् । आर्थिक वर्षको अन्तिम महिना असारमा सरकारले बजेट निकासा गरेकाले निक्षेप बढेको हुँदा यसको दिगोपनाबारे बैंकहरू सशंकित छन् । 'निक्षेपको यो वृद्धि दिगो हो कि होइन हेर्न बाँकी नै छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने ।
यससँगै घर कर्जासम्बन्धी राष्ट्र बैंकले जारी गर्ने नयाँ निर्देशिकाले पनि ब्याजदर घट्ने विषयलाई प्रस्ट्याउनेछ । मौदि्रक नीतिमा घरकर्जालाई खुकुलो बनाउने उल्लेख भए पनि यसको विस्तृत कार्यविधि निर्देशिकामार्फत आउने केन्द्रीय बैंकले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks