जनक नेपाल
नेपालगन्ज, श्रावण १४ - नगरको डुबानग्रस्त बस्तीमा बुधबारदेखि फैलिएको झाडापखालाले प्रकोपको रूप लिएको छ । पखालाबाट दुई बालबालिकासहित तीन जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी बिरामीको अवस्था गम्भीर रहेको छ । नेपालगन्जका अस्पतालहरूमा १ सय ३० जना भर्ना छन् । उपचार गरी घर गएकाहरू समेत पुनः बिरामी परी अस्पताल आउन थालेका छन् ।
नेपालगन्ज-५ स्थित सल्यानीबागका ५ वर्षीया जस्मिन हल्वाई र वडा नं. ४ का तानिया हल्वाईको बिहीबार बिहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो भने दाङ तुलसीपुरकी ६५ वर्षीया कलावती बुढाथोकीको बुधबार शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
मेडिकल कलेजको शिक्षण अस्पतालमा मात्र बिहीबार साँझसम्म
१ सय ५८ बिरामी उपचारका लागि आएका छन् । तीमध्ये ९० भन्दा धेरै बिरामीको अस्पतालमा उपचार जारी रहेको आकस्मिक कक्षका इन्चार्ज डा. मधु अर्यालले बताए । भेरी अञ्चल अस्पतालमा ५१ र नेपालगन्ज युनाइटेड अस्पतालमा दुई बिरामी भर्ना छन् ।
भेरी र शिक्षण अस्पतालका आकस्मिक कक्षका वार्डहरू भरिभराउ छन् । भेरीमा एउटै बेडमा दुई/तीन जनालाई राख्दा पनि नपुगेर बेन्चमा र भुइँमा सुताएर उपचार भइरहेको छ । बिरामी राख्न छुट्टै कोठा थपिएको छ । त्यस्तै शिक्षणमा ८ बेड थपिएको छ भने वार्डहरू भरिभराउ छन् । भेरीमा १२ र शिक्षण अस्पतालमा २२ बेडका आकस्मिक वार्डहरू छन्् । मंगलबार रातिदेखि पखालाका बिरामी अस्पताल आउन थालेका थिए । बुधबारदेखि बिरामी अत्यधिक बढेको स्वास्थ्यकर्मीले बताए ।
'उपचारपछि घर फर्केका पनि पुनः बिरामी भएर अस्पताल आएका छन्,' डा. अर्यालले भने, 'हैजाको लक्षण देखिएकाले दिसा परीक्षण हँुदैछ, रिपोर्ट नआउँदासम्मका लागि एन्टिबायोटिक दिएका छौं ।' पखाला लागेको केही घन्टामै बिरामी बेहोस हुने र नाडी नचल्ने गरी सिकिस्त हुने गरेकाले हैजाको शंका गरिएको उनले बताए । स्वास्थ्य विभाग महामारी नियन्त्रण महाशाखाले हैजा परीक्षणका लागि शुक्रबार विशेषज्ञसहितको टोली पठाउने भएको छ ।
मध्य तथा सुदूरपश्चिमको सबैभन्दा ठूलो भेरी अञ्चल अस्पतालमा हैजा परीक्षणको सुविधा छैन ।
हैजा परीक्षणको सुविधा यहाँ नभएकैले प्याथोलोजिस्ट विशेषज्ञ टोली आउन लागेको भेरी अस्पताल प्रमुख डा. विमल ढकालले बताए । उनले भने, 'एकैपटक महामारी फैलिएकाले हैजाको आशंका गरिएको हो ।' निजीस्तरको नेपालगन्ज मेडिकल कलेजमा भने हैजा परीक्षणको सुविधा छ । झाडापखालाका बिरामीको दिसामा हैजा परीक्षण भइरहेको र पुष्टि हुन अझै दुई दिन लाग्ने डा. अर्यालले बताए ।
नगरका गणेशपुर, देवाफुल्बारी, घरबारी टोल, कोरियनपुर्वा, सल्यानीबाग र फुल्टेक्रामा झाडापखाला फैलिएको हो । ती बर्सेनि डुबानमा पर्ने क्षेत्र हुन्् । दुई साताअघिको वषर्ाले डुबानमा रहेका नेपालगन्जमा गर्मी बढेपछि एकाएक प्रकोप फैलिएको हो । डुबानग्रस्त बस्तीमा दूषित पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । नियन्त्रणका लागि जनस्वास्थ्यले स्वास्थ्यकर्मीहरूको घुम्ती टोली खटाएको छ । 'चिकित्सकसहितका चारवटा टोलीले बिहीबार दिनभर महामारीग्रस्त बस्तीमा पुगेर उपचार गर्यो,' जनस्वास्थ्य कार्यालयका रोग नियन्त्रण संयोजक रामबहादुर चन्दले भने । घुम्ती टोलीमा चिकित्सकसहित १३ जना छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks