Loving nepal news

Monday, July 26, 2010

उफ्, महँगी !

मैना धिताल

काठमाडौ, श्रावण १० - चार जनाको परिवारकी गृहिणी सीता उप्रेतीलाई अचेल तरकारी किन्न दिनको कम्तीमा डेढ सय रुपैयाँ लाग्छ । 'मेरोजस्तो सानो परिवार भएकालाई यत्रो खर्च लाग्छ भने धेरै जना हुनेको हालत के होला ?', उनी भन्छिन् ।

दुई साताअघि किलोको १ सय ४५ तिरेको मुंगको दाल अहिले १ सय ६० पुगेको छ । चालीस रुपैयाँको गोलभेडाले ७५ नाघेको छ । निम्न वर्गका उपभोक्ताले बढी उपभोग गर्ने सोना र मोटा चामलको मूल्य किलोको ६/७ रुपैयाँ बढेको छ । अहिले सोना प्रतिकिलो ५० र मोटा चामल ३४ रुपैयाँ पुगेको छ ।

'कामचलाउ सरकार छ,' बजार विश्लेषक भोला पोखरेल भन्छन्, 'त्यसैले बजार नियन्त्रण संयन्त्र प्रभावकारी नहुँदा व्यापारीमा जे गरे पनि हुन्छ भन्ने मानसिकता छ ।'

झन्डै १ करोड ५५ लाख जनता दैनिक ९४ रुपैयाँ पनि कमाउन सक्ने अवस्थामा छैनन् । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनअनुसार ६५ प्रतिशत नेपाली गरिब छन् ।

'गत वर्ष छापा मार्दा अलिकति भए पनि कम भएको थियो,' उप्रेतीले भनिन्, 'सरकारले केही कदम चाले जनतालाई राहत हुने थियो ।'

कुपन्डोलमा किराना पसल गर्ने रामप्रसाद अधिकारी भने उपभोक्ताको गाली सुन्न बाध्य छन् । 'किन्न आउनेहरू पसलेले नै बढाएको ठान्छन्,' उनले सुनाए, 'किन्दै महँगो तिर्नुपरेपछि कसरी सस्तो बेच्ने ?'

जोरबिजोर प्रणाली र बर्सातमा ढुवानी भाडा वृद्धि, भारतले चामलमा लगाएको प्रतिबन्धलगायत कारणले मूल्य बढेको व्यापारी बताउँछन् । सरकारले भारतबाट ल्याउने भनेको करिब २० हजार टन चामल पनि मूल्य र गुणस्तर नमिलेका कारण अझै आएको छैन । प्रतिकूल मौसमका कारण देशभित्र पनि यस वर्ष ११ प्रतिशत कम धान उत्पादन भएको छ ।

तरकारी मूल्य पनि निकै बढेको छ । दुई सातामा काउली १० रुपैयाँ बढेको छ भने घिउसिमी ४० बाट ७० रुपैयाँ पुगेको छ । करेला २० रुपैयाँबाट बढेर ६० पुगेको छ भने भिन्डी ६० बाट ७५ रुपैयाँ पुगेको छ ।

आलु, सुकेको प्याज, मूलालगायत तरकारीको मूल्यमा भने सामान्य वृद्धि भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले गोलभेडा, सुकेको लसुन, बोडी, करेला, भन्टालगायत तरकारीको मूल्य बढेको जनाए । 'बर्सातको मौसम भएकाले उत्पादन त्यसै पनि कम हुन्छ,' उनले भने, 'त्यसलाई बजारसम्म ल्याउँदा लागत र नोक्सानी दुवै बढ्ने भएकाले मूल्य पनि बढेको हो ।'

बजारको माग जहाँको तहीं तर आपूर्ति कम हुँदा मूल्य बढ्न गएको श्रेष्ठको भनाइ छ । दैनिक औसत ६ देखि ७ सय टन तरकारी कालिमाटी बजार भित्रने गरेकामा हालका दिनमा दैनिक औसत ४ देखि ५ सय टनमात्रै आउने गरेको समितिले जनाएको

छ । पोखरेल भने बाढी, पहिरोलाई दोष दिएर कालाबजारीले भाउ बढाइरहेको बताउछन् । 'देशभरि खाद्यान्नको मौज्दात के छ, माग र आपूर्तिको स्थिति अध्ययन गरी पूर्वतयारी गर्नु पथ्र्यो,' उनी भन्छन्, 'अप्ठेरो छ भने सरकारले नै मूल्य नीति पनि तय गर्न सक्छ र त्यसो हुँदा भाउ पनि अचानक बढ्दैन ।'

वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुर बजार अनुगमन भर्खरै थालेको बताउँछन् । 'विभिन्न ठाउँमा नमुना मूल्य लिँदैछौं,' उनले भने, 'अर्को साता कृषि, वाणिज्य तथा आपूर्तिलगायतका मन्त्रालय र सरोकारवालाको बैठकमा कुरा राख्नेछौं ।'

उपभोक्ता पनि संगठित नहुँदा महँगीविरुद्ध सशक्त आवाज उठ्न सकेको छैन । भएका उपभोक्तावादी संस्थाहरूको पनि राजनीतिक रूपमा मात्रै उपस्थिति देखाउने र फाइदा देखे दौडिने नत्र चुप लाग्ने प्रवृत्ति

छ । उपभोक्ता हित संरक्षण मञ्चमा समेत आबद्ध रहेका पोखरेल पनि यसलाई स्वीकार्छन् । 'सरकारले पनि उपभोक्तावादी संस्थालाई सबलीकरण गर्नु पर्‍यो,' उनको भनाइ छ, 'भारतमा उपभोक्ता हित हेर्ने छुट्टै मन्त्रालय छ, हामीकहाँ छुट्टै विभाग बनाउन भन्दा पनि मान्दैनन् ।' हाल वाणिज्य विभागअन्तर्गत तीन कर्मचारीले उपभोक्ता हितसम्बन्धी काम गर्दै आएका छन् ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको प्रतिवेदनअनुसार जेठ मसान्तमा चामल तथा चामलजन्य वस्तुको मूल्य १४ प्रतिशतले बढेको छ । तर बजारमा भएको वास्तविक मूल्यवृद्धि हेर्दा यो तथ्यांकलाई विश्वसनीय मान्न नसकिने उपभोक्ता बताउँछन् ।

छोटो अवधिमै कति बढ्यो ?

वस्तु असार अन्तिम साता हाल

पोखरेली चामल ५० ५५

सोना चामल ४४ ५०

मोटा चामल २७ ३४

हरियो केराउ ४८ ५२

मैदा ३४ ३६

घिउसिमी ४० ७०

भिन्डी ६० ७५

गोलभेडा ४० ७५

मुंग गेडा ९० १५०

चाइनिज लसुन १७५ २२५

स्रोतः नेपाल खुद्रा व्यापार संघ/कान्तिपुरको बजार अध्ययन

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks