काठमाडौ, श्रावण ९ - नेपालमा एसियाली विकास बैंकको आवासीय कार्यालय स्थापना भएको २० औं वाषिर्कोत्सव अवसरमा बैंक अध्यक्ष हारुहिको कुरोदा आउने भएका छन् । सोमबारदेखि सुरु हुने उनको चार दिने भ्रमणका क्रममा उच्चपदस्थ अधिकारीसँग भेटवार्ताका साथै बैंकको सहयोगमा सञ्चालित कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम रहेको जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको सबैभन्दा ठूलो दातृ निकायको उच्च तहबाट १२ वर्षयता हुन लागेको यो पहिलो भ्रमण हो ।
आर्थिक वर्ष २०६६/६७ मा बैंकले सहयोगलाई दोब्बर बनाएको छ । बैंकका अनुसार गत आर्थिक वर्षमा सहयोग राशि ५५ करोड अमेरिकी डलर पुर्याइएको छ ।
बैंकले सन् १९६९ देखि नेपाललाई आर्थिक एवं प्राविधिक सहायता प्रदान गर्दै आइरहेको छ । बैंकका अनुसार यस अवधिमा नेपालले ३ अर्ब डलर आर्थिक सहायता र १३ करोड डलर बराबरको प्राविधिक सहायता पाएको छ ।
एडीबीको अनुदान र ऋण सहयोगमा ३२ वटा विकास परियोजना सञ्चालित छन् भने प्रविधिक सहायताका ३७ परियोजनामा पनि सहयोग छ । बैंकले मुख्यतया शिक्षा, वित्त, सुशासन, स्वास्थ्य, खानेपानी, सरसफाइका परियोजनाहरूमा सहयोग दिइरहेको छ ।
फिलिपिन्सको मनिलामा मुख्य कार्यालय रहेको यो बैंक १९६६ मा स्थापना भएको हो । बैंकमा ६७ देश सदस्य छन् । नेपाल पनि संस्थापक सदस्यमध्येको एक मुलुक हो । विशेषगरी एसियामा गरिबी निवारणका क्षेत्रमा कार्यरत बैंकको उच्च तहबाट हुन लागेको यस भ्रमणले सहयोगको निरन्तरतासँगै थप सेवाको अपेक्षासमेत गरिएको
छ । तर देशभित्र भने प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएर कामचलाउ सरकार चलाइरहेको अवस्था छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks