काठमाडौ, श्रावण ७ - सनराइज बैंकको सञ्चालक समितिका सदस्यहरूबीचको विवाद सकिएको छ । बैंकलाई अझ व्यवस्थित रूपमा लैजान सबै सञ्चालकहरू विगतमा झैं एकजुट भएर लाग्ने उनीहरूले घोषणा गरे । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले 'अब कुनै समस्या बाँकी नरहेको' बताए ।
बोर्डका अध्यक्ष तोलाराम दुगड र निर्देशक श्रावण गोयल पक्षबीच कम्पनी सचिव र व्यावसायिक व्यक्तिलाई निर्देशक नियुक्ति लगायतमा भएको विवाद बाहिर आएको थियो । विवाद साम्य नभए बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्ने चर्चासमेत चलेको थियो ।
बैंकले बिहीबारै कम्पनी सचिव नियुक्तिका लागि सूचना प्रकाशित गरेको छ । 'यो सूचनाले हामी सहमतिमा पुगिसकेको देखाउँछ,' बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष दुगडले भने । बोर्डका सदस्यहरूले व्यावसायिक व्यक्तिलाई निर्देशक नियुक्ति गर्ने विषयमा पनि सहमति भइसकेको बताए ।
'मिलेर बैंकलाई राम्रो बनाउने बाचा गर्छौं,' दुगडले भने । तर उनीहरूले विवाद के केमा भएको थियो र कसरी सहमतिमा पुगियो भन्ने कुरा प्रस्ट पारेनन् ।
राष्ट्र बैंकले यसअघि मंगलबारसम्म प्रोफेसनल निर्देशक नियुक्ति गर्न भनेको थियो । तर बोर्ड त्यसमा असफल भएको
थियो । निर्देशक सुरेशकुमार बस्नेतले असमझदारी समाधानका लागि सहमति भएको बताए । 'सहमतिका आधारमा यी विषयको निर्णय गर्न बोर्ड स्वतन्त्र छ,' उनले भने । आर्थिक वर्षको अन्त्यसम्म पनि बोर्ड बैठक नभएपछि राष्ट्र बैंकले यसअघि सबै निर्देशकलाई बोलाएको थियो । विवादकै कारण बोर्ड बैठक तीन महिनादेखि
बसेको थिएन ।
बैंकको नाफा १ सय २५ प्रतिशत
सनराइज बैंकले गत आवमा अघिल्लो आवको तुलनामा सञ्चालन मुनाफा १ सय २५ प्रतिशतले बढेको जनाएको छ । बैंकका अनुसार गत आवमा उसले ३० करोड ४ रुपैयाँ नाफा गरेको छ । बैंकले एक वर्षमा शाखा संख्या २४ बाट बढाएर ४० पुर्याएको जनाएको छ । 'ग्राहक संख्या १ लाख ११ हजार पुगेको छ,' बैंकले भनेको छ, '१५ अर्ब निक्षेप र १२ अर्ब कर्जा प्रवाह गर्न सफल भएका छौं । जुन अघिल्लो अवमा भन्दा क्रमशः २३ र ३३ दशमलव ६६ प्रतिशत बढी हो ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks