Loving nepal news

Tuesday, July 27, 2010

टेलिकमको मोबाइल पूर्वाधार निर्माणमा ढिलाइ

योगेश खतिवडा

काठमाडौ, श्रावण १२ - पैंतीस लाख जिएसएम मोबाइल थप गर्न पूर्वाधार तयार पार्ने जिम्मा पाएको जेडटिई कम्पनीले सम्झौताअनुसार काम नगर्दा नेपाल टेलिकमको योजनामा असर पर्ने भएको छ ।

करिब ३ वर्षअघि थप मोबाइलका लागि टेलिकमले पूर्वाधार निर्माणको जिम्मा जेडटिईलाई दिएको थियो । त्यस बेला २०१० जुलाई -साउन मध्य) भित्र सबै काम सक्नुपर्ने थियो । तर जेडटिईले नेपाल टेलिकमसँग सम्झौतामा गरेका प्रतिबद्धता अनुसार काम गरेन ।

'सुरुमा जनाएको प्रतिबद्धता अनुसार जेडटिईले काम गरेन,' कम्पनीका एक कर्मचारीले भने । ३५ लाख जिएमएम मोबाइल थप गर्न आवश्यक पूर्वाधार बनाउने यो कार्यक्रम तीन चरणमा सक्ने सहमति भएको थियो ।

'तीनै चरणको काम साउन मध्यभित्र सक्नुपर्ने सम्झौता भएको थियो,' उनले भने, 'तर अहिले दोस्रो चरणका काम सुरु हुँदै छ । तेस्रो चरणको काम कहिले सकिने निश्चित छैन ।' पहिलो चरणको काम सकेर जेडटिईले करिब तीन महिनाअघि मात्र दोस्रो चरणको काम थालेको हो । तर सम्झौता अनुसार एक वर्षअघि नै पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्नुपर्ने थियो ।

'दोस्रो चरणको काम झन्डै एक वर्ष ढिला सुरु भएको छ,' उनले भने, 'यही गतिमा जाने हो भने पूरै योजना सक्न दुई वर्ष ढिला हुन्छ ।' जेडटिइले दोस्रो चरणमा ४ सय ५० र तेस्रो चरणमा ७ सय १० वटा बिटिएस जडान गर्नुपर्छ । तोकिएको समयमा बिटिएस टावर थप नगर्दा गुणस्तर सुधारलगायत काममा पनि असर पर्ने उनले बताए । उनले व्यवस्थापन पक्षले दबाब दिन नसक्दा काम ढिलो भएको बताए ।

कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले सुरुमा बनाएको योजनाका आधारमा सबै काम पूरा नहुने बताए । 'कतिपय कार्यक्रम सुरुमा तोकिएको समयमा सकिँदैन,'

उनले भने ।

उनका अनुसार आर्थिक वर्ष ०६५/०६६ र ०६६/०६७ मा पहिलो चरणमा थपिएका बिटिएसबाट जिएसएम मोबाइलको सिम प्रदान गरिएको हो । गत महिना विद्यार्थीलाई बाँडिएको सिम दोस्रो चरणको पूर्वाधार निर्माणबाट बाँडिएको हो ।

आर्थिक वर्ष ०६७/०६८ मा तेस्रो चरणको कामबाट सिम बाँड्न लागिएको उनले बताए । चालू आवमा टेलिकमले १८ लाख जिएसमएम मोबाइलको सिम बाँड्ने योजना बनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks