Loving nepal news

Friday, July 9, 2010

लहरामा झुन्डिएर पढ्न


बिप्लब महर्जन
रोल्पा, अषाढ १२ - जिनाबाङ-३ सुकओरालस्थित बाफुखोलाको झोलुंगे पुल जीर्ण अवस्थामा छ । पुलको विकल्प नभएकाले स्थानीय ज्यान जोखिममा राखेर लठ्ठोमा मात्र टेकेर खोलो वारपार गर्न बाध्य छन् ।

पुलको फ्ल्याक खसेकाले ठाउँ-ठाउँमा ह्वांगै छ । बायाँ छेउको लठ्ठो चुँडिएर पुल कोल्टे परेको छ । बढी हल्लिने हुँदा बीचबाट हिँड्न सकिँदैन । स्थानीय नोखबहादुर डांगीले भने, 'केही उपाय नभएकाले एउटा लठ्ठो समातेर तर्नुपर्छ ।'

३० वर्षदेखिको जीर्ण पुलका कारण स्थानीय गाउँलेहरूभन्दा दैनिक विद्यालय आवतजावत गर्ने बालबालिकाहरू बढी प्रभावित भएका छन् । वषर्ाको समयमा बाफुखोला तर्न नसकिने हुँदा ओलाइम, राम, जिनाबाङ, तालाबाङ, पाछाबाङका स्थानीय र वरपरका बासिन्दाका लागि २०२९ मा सरकारी अनुदानमा यहाँ झोलुंगे पुल निर्माण गरिएको थियो । लठ्ठो चुँडिनुका साथै फ्ल्याक खसेर ठाउँ-ठाउँमा ह्वांगै भएकाले जीर्ण पुलबाट गत वर्ष ४ जना बालबालिका खसेका थिए ।

पुलको अर्को लठ्ठो पनि चुँडिने अवस्थामा छ । दुई वर्षभित्रै पुलको मर्मत नगरे नाम निसान मेटिने अवस्थामा पुगेको वृद्ध लिलमान वलीले बताए । पुल मर्मतका लागि जिविसलगायत विभिन्न निकायमा माग भइरहे पनि सबैले बेवास्ता गर्दै आएकोमा उनले गुनासो गरे ।

'पुल मर्मत नगरे ठूलो समस्या आउन सक्छ,' मानबहादुर डाँगीले भने, 'वल्लो डाँडामा गाउँ र पल्लो डाँडामा स्वास्थ्य चौकी छ । कोही बिरामी भएमा हतार-हतार खोला तरेर जानुपर्ने हुन्छ ।' स्थानीय गंगा निम्नमाध्यमिक विद्यालयसमेत गाउँ र स्वास्थ्य चौकीजस्तै ठाउँमा भएपछि अधिकांश बालबालिकाहरू पुलबाट नै जोखिम उठाई वारपार गर्ने गरेको १३ वषर्ीया कमला घर्तीले बताइन् । कक्षा ६ मा पढ्दै आएकी उनले सबैलाई समस्या भएको सुनाइन् । 'पानी नबढेकाले खोला तरेर वारपार गर्ने गर्छौं,' उनले भनिन्, 'वषर्ामा खोला तर्न सकिँदैन असारदेखि कात्तिकसम्म पुलको सहारामा खोला पार गर्नुपर्छ ।'

वषर्ामा पुल तर्न नसक्ने धेरैजसो स-साना नानीहरू विद्यालय नै नजाने गरेको नेपाली कांग्रेसका नेता अम्मर पुनले बताए । उनले भने, 'स्थानीयको ज्यान जोगाउन पुल बनाउन आवश्यक छ ।' जीर्ण पुलबाट वारपार गर्न ज्यादै कष्टकर भएपछि उनले मर्मतका लागि पहल गर्ने बताए । जिविस रोल्पाका स्थानीय विकास अधिकारी रमेश न्यौपानेले भने कार्यालयले मर्मतका लागि सहयोग गर्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks