राष्ट्रिय प्रतिभालाई सम्मान गर्नुपर्छः प्रम
काठमाडौँ, असार ३० गते । प्रधानमन्त्री माधवकुमार नेपालले देश विकासका दरिला आधारस्तम्भको रूपमा रहेका युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा बुधबार राजधानीमा आयोजित युवा तथा खेलकुद प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अनुशासित, मर्यादित, कर्तव्यनिष्ठ एवं सिर्जनशील युवा खेलाडीहरूबाट राष्ट्रिय एकता बलियो र मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा ओजिलो हुने उहाँले बताउनुभयो । युवाको प्रतिभा प्रस्फुटन गराउने कुरामा आफूले जोड दिएको बताउँदै उहाँले राष्ट्रिय प्रतिभाहरूलाई खोजेर राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो ।
सरकारले राष्ट्रिय युवा नीति घोषणा गरिसकेको र खेलकुद नीति घोषणाको तयारी गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री नेपालले नीति सम्बन्धित क्षेत्रका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । युवा बेरोजगारी अन्त्य गर्न सरकार प्रयासरत रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री नेपालले युवा तथा खेलकुद मन्त्रालयद्वारा स्थापित २०६६ सालको युवा प्रतिभा र खेलकुद सम्मानबाट पाँचजनालाई नगद ७५ हजार रुपियाँसहित ताम्रपत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो । वातावरण क्षेत्रमा उल्लेखनीय कार्य गरेबापत डा. सुनीलबाबु श्रेष्ठ, मूर्तिकलामा ख्याति कमाएका धर्मराज शाक्य र विभिन्न विधाअन्तर्गत गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएका दीपक शर्मा बजगाईंलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको थियो ।
यसैगरी, खेलकुद क्षेत्रमा पदक प्राप्त गरी मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि गरेबापत खेलाडीद्वय देवु थापा र दीपक विष्टलाई युवा खेलकुद सम्मान प्रदान गरिएको थियो । सम्मानित पाँचमध्ये विष्ट मुलुकबाहिर रहनुभएकाले कार्यक्रममा अनुपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा युवा तथा खेलकुद सहायकमन्त्री चन्दा चौधरीले समाज रूपान्तरणका अग्रदूत एवं परिवर्तनका संवाहकका रूपमा युवा तथा खेलाडीहरू सक्रिय रहेको उदाहरण दिँदै युवा सहभागिताबिना देश विकास सम्भव नभएको बताउनुभयो ।
युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशीलजङ्गबहादुर राणाले स्थापित सम्मानका बारेमा जानकारी गराउनुभएको थियो ।
सम्मानित व्यक्तिहरू सुनीलबाबु श्रेष्ठ, धर्मराज शाक्य, दीपक शर्मा बजगाईंले राज्यबाट सम्मानित हुँदा गौरवान्वित भएको र थप ऊर्जा प्रदान गरेको बताउनुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks