कान्तिपुर संवाददाता
काठमाडौं, श्रावण ९ - दुई पटक भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन नसकेपछि कामचलाउ सरकारका प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक परामर्श सुरु गरेका छन् ।
सत्ता गठबन्धनमा सहयोग गर्ने प्रमुख दलका नेताहरुलाई प्रधानमन्त्री नेपालले आइतबार सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् । उनलाई भेट्न कांग्रेसका शीर्ष नेताहरु विहान बालुवाटारमा पुगेका थिए । भेटमा कांग्रेस नेताहरुले आफ्ना प्रधानमन्त्री उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री नेपालले एमालेले राष्ट्रिय सहमतिको सरकारमा जोड दिएकाले त्यसका लागि कसैको पक्षमा नलागी तटस्थ बस्ने निर्णय केन्द्रीय कमिटीको वैठकले गरेको बताए ।
भेटमा कांग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र संस्कृति, संघीय तथा संसदीय मामला मन्त्री मिनेन्द्र रिजाल उपस्थित थिए ।
यसैगरी प्रधानमन्त्रीले आइतबार नै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणासँग भेट गरे । त्यस अवसरमा पनि नेताहरुबीच वतर्मान राजनीतिक गतिरोध लम्ब्याउन नहुने र कामचलाउ सरकारको सट्टा छिटो नयाँ सरकार गठन हुनुपर्ने विषयमा छलफल भएको प्रधानमन्त्री प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्रीले आफूले राजीनामा दिइसकेपछि पनि नयाँ सरकार गठन हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै छिटो नयाँ सरकार गठन गरेर अन्यौल र गतिरोध समाप्त गर्नेतर्फ दलहरुको सकि्रयता बढ्नुपर्नेमा जोड दिएका थिए ।
१६ असारमा राजिनामा दिएपछि प्रधानमन्त्री नेपाल कामचलाउ हैसियतमा छन् । नयाँ प्रधानमन्त्री छान्न ७ र ९ साउनमा निर्वाचन भए पनि कुनै उम्मेदवारले सामान्य बहुमत ल्याउन नसकेपछि अर्को निर्वाचन १७ साउनमा हुँदैछ ।
सुरक्षा सुधारः प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको शान्ति-सुरक्षा थप प्रभावकारी बनाउन आइतबार निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शान्ति-सुरक्षा सम्बन्धी वैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । वैठकमा गृहमन्त्री भीम रावल, सुरक्षा अङ्गका प्रमुखहरु, गृहसचिव तथा रक्षासचिवको उपस्थिति थियो ।
वैठकमा सुरक्षा अङ्गका प्रमुखहरुले आ-आफ्नो संगठनको कामकारबाहीका सम्बन्धमा प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।
यस्तै प्रधानमन्त्रीले बाढी पहिरोबाट प्रभावित जनताहरुको उद्दार र राहत वितरण कार्यलाई पनि प्रभावकारी बनाउन निर्देशन दिए । वैठकमा गृहमन्त्री तथा दैवी प्रकोप केन्द्रीय समितिका अध्यक्ष भीम रावल, मुख्यसचिव राष्ट्रिय योजनाग आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, सुरक्षा अङ्गका प्रमुखहरु, गृहसचिव, रक्षासचिव, स्थानीय विकाससचिव, स्वास्थ्यसचिव, प्रम कार्यालयका सचिव तथा सिँचाई मन्त्रालयकासचिव लगायतको उपस्थिति थियो ।
वैठकमा गत असारयता मुलुकका विभिन्न भागमा वाढी-पहिरोबाट पुगेको क्षतीका सम्बन्धमा समीक्षा भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks