काठमाडौं, श्रावण १५ - भारतमा राजकीय भ्रमण गरेका राष्ट्रपति रामवरण यादवलाई चीनले औपचारिक भ्रमणको मात्र प्रस्ताव राखेपछि परराष्ट्र मन्त्रालय अन्योलमा छ ।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति भएकाले यादवको चीन भ्रमण राजकीय हुनुपर्ने परराष्ट्रको अडान छ ।
एउटा छिमेकी मुलुकमा राजकीय भ्रमण गरेको अवस्थामा अर्को छिमेकी मुलुकमा औपचारिक भ्रमणमात्र गर्दा महत्त्वका हिसाबले मात्र नभई कूटनीतिक रूपमा समेत 'अन्य अर्थ' लाग्ने परराष्ट्रको बुझाइ छ । 'गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका हैसियतमा छिमेकी मुलुक भारतमा राजकीय भ्रमण भएको अवस्थामा अर्को छिमेकी मुलुक चीनमा औपचारिक भ्रमणमात्र गर्दा नेपालको कूटनीतिक अभ्यासमा प्रश्न उब्जिन सक्छ,' परराष्ट्रका एक उच्च अधिकारीले भने, 'नेपाल दुवै छिमेकी मुलुकका लागि रणनीतिक महत्त्व भएको देश भएकाले अन्य अर्थ पनि लाग्छ ।'
राजकीय भ्रमण भए राष्ट्रपति यादवको सम्मानमा चीनले 'स्टेट बेंकिट' नामक रात्रिभोज दिनुपर्छ भने औपचारिक भ्रमणमा 'डिनर' मात्र दिए पुग्छ । स्टेट बैंकिटमा चीनका सबै उच्च पदस्थ अधिकारी उपस्थित हुन्छन् । डिनरमा यस्तो अनिवार्यता हुन्न । त्यसबाहेक महत्त्व, सलामी र सम्मानका हिसाबले राजकीय भ्रमण औपचारिक भ्रमणभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।
फागुन ३ मा भारतको राजकीय भ्रमण गरेको एक महिना नबित्दै कूटनीतिक माध्यमबाट राष्ट्रपति यादवलाई चीनले भ्रमणको निमन्त्रणा गरेको थियो । गत वर्ष पुस ११-१६ मा भएको प्रधानमन्त्री माधवकुमार नेपाल र भदौ २३-२८ मा भएको परराष्ट्रमन्त्री सुजाता कोइरालाको चीन भ्रमणका बेला राष्ट्रपति यादवलाई भ्रमणका लागि दिएको निम्तोको चीनले पुनः स्मरण गराएको थियो । त्यतिबेला प्रधानमन्त्री नेपाल र परराष्ट्रमन्त्री कोइरालाले उपयुक्त समय मिलाएर राष्ट्रपति यादवले चीन भ्रमण गर्ने जनाएका थिए ।
नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबीच उनको भ्रमण सांघाई एक्स्पोको अन्तिम दिन डिसेम्बर ३१ मा प्रमुख अतिथिका रूपमा गराउने तय अनौपचारिक रूपमा भएको छ । भ्रमण राजकीय हुने कि औपचारिक हुने भन्ने तय भइसकेको छैन । 'राष्ट्रपतिज्यूको राजकीय भ्रमण हुनुपर्ने हाम्रो अडान छ,' ती अधिकारीले भने, 'तर चीनले भ्रमण औपचारिकमात्र हुनुपर्नेमा जोड दिएको छ ।'
उनका अनुसार अन्तिम दिन विभिन्न देशका राष्ट्रप्रमुख सांघाई एक्स्पोमा भाग लिन जाने भएकाले चीनले राष्ट्रपति यादवको मात्र राजकीय भ्रमण गराउन कूटनीतिक समस्या छ । 'धेरै देशको राष्ट्रप्रमुख पुगे पनि एउटामात्र देशको राष्ट्रपतिलाई राजकीय भ्रमण गराउँदा चिनियाँ विदेश नीतिमै प्रश्न उठ्छ,' ती अधिकारी कथन छ । उनका अनुसार कूटनीतिक समस्या उब्जने भएकाले चीनले राष्ट्रपति यादवलाई राजकीय भ्रमण गराउने सम्भावना कम छ ।
राष्ट्रपति यादवको चीन भ्रमणका सन्दर्भमा मध्यमार्गको विषयमा पनि कुराकानी भइरहेको परराष्ट्र स्रोतको दाबी छ । स्रोतका अनुसार राष्ट्रपति यादवको चीन भ्रमणलाई राजकीय भ्रमणको नाम दिने तर भ्रमणको पहिलो दिनलाई औपचारिक भ्रमणमा मात्र सीमित राख्ने र अर्को दिन राजकीय सम्मान दिने विषयमा छलफल चलिरहेको छ । तर कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार एउटै भ्रमण औपचारिक र राजकीय भएको उदाहरण पाइँदैन ।
गत असार १६ गते प्रधानमन्त्री नेपालले राजीनामा दिए पनि नयाँ सरकार गठन नभएकाले राष्ट्रपति यादवको चीन भ्रमणबारे परराष्ट्रले ठोस निर्णय गर्न सकेको छैन । 'सरकारको निर्णयअनुसार राष्ट्रपतिले चीन भ्रमण गर्नुपर्ने भएकाले नयाँ सरकार नबनी त्यसबारे ठोस निर्णय हुन सक्दैन,' स्रोतको कथन छ, 'राष्ट्रपतिको सम्बोधन पनि सरकारी निर्णयअनुसार हुन्छ ।' अन्तरिम संविधान अनुसार राष्ट्रपति संवैधानिक हुन् । उनका भ्रमणको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्छ ।
नयाँ सरकार गठन नभएकाले सांघाई एक्स्पोको नेपाल दिवसमा नेपालका तर्फबाट कसले नेतृत्व गर्ने विषयमा पनि निर्णय भएको छैन । 'सामान्यतः उक्त दिन परराष्ट्रमन्त्रीले भाग लिनुपर्ने हो,' परराष्ट्रका एक अधिकारीले कान्तिपुरलाई भने, 'नयाँ सरकार बनेपछि मात्र यो विषयमा पनि टुंगो हुन्छ ।' आगामी भदौ १८ गते सांघाई एक्स्पोमा नेपाल दिवस हुँदैछ । वैशाख १८ गतेदेखि सुरु भएको सांघाई एक्स्पो कात्तिक १४ गतेसम्म चल्नेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks