Loving nepal news

Tuesday, July 13, 2010

समयसीमाभित्र सहमति कायम गर्न दलहरू असफल

समयसीमाभित्र सहमति कायम गर्न दलहरू असफल
काठमाडौँ, असार २८ गते । राष्ट्रपति डा. रामवरण यादवद्वारा सहमतिको सरकार बनाउन दलहरूलाई दिइको समयसीमा समाप्त भएर बहुमतीय प्रक्रियामा मुलुक पुगे पनि सहमतीय सरकार निर्माणको प्रयत्न खुला राख्न प्रमुख तीन राजनीतिक दल सहमत भएका छन् ।

सहमतिको सरकार निर्माणका लागि राष्ट्रपति डा. यादवले सुरुमा सात दिन र पछि पाँच दिन दिएको समयसीमा सोमबार सकिएको छ । सहमतिको अन्तिम प्रयासस्वरूप संविधानसभा भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रमुख तीन राजनीतिक दलको बैठक 'सहमतिको प्रयत्नका लागि सहमत' भन्दै बिनानिष्कर्ष टुङ्गिएको थियो ।

बैठकमा एनेकपा -माओवादी)द्वारा प्रस्तुत लडाकू समायोजनसम्बन्धी प्रस्तावमा छलफल भए पनि कुनै सहमति बन्न सकेन । बैठकमा माओवादी लडाकूको समायोजन र पुनस्र्थापनाका विषयमा स्पष्ट कार्यतालिका र सङ्ख्या निर्धारण गर्न नेपाली काङ्ग्रेस र नेकपा -एमाले) ले आग्रह गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बहुमतीय सरकार निर्माणको चुनावअघिसम्म पनि सहमतिको प्रयत्न जारी राख्ने बताउनुभयो ।

नेकपा -एमाले) का अध्यक्ष झलनाथ खनालले अन्तरिम संविधानको धारा ३८ -१) बमोजिम सहमतीय सरकार बन्न नसकेपछि ३८ -२) अनुसार बहुमतीय सरकार निर्माणको चरणमा मुलुक प्रवेश गरेको तर सहमतिका लागि प्रयत्न जारी राख्ने बताउनुभयो ।

अध्यक्ष खनालले बहुमतीयभित्र सहमति खोज्ने भन्दै राजनीतिमा सहमतीय प्रक्रियाको अन्त्य कहिल्यै नहुने बताउनुभयो ।

एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले राष्ट्रिय सहमतिको सरकारका लागि सहमति निर्माण हुन नसक्नु दूर्भाग्यपूर्ण भन्दै आफूहरूले प्रस्तुत गरेको लडाकू समायोजनसम्बन्धी प्रस्तावमाथि काङ्ग्र्रेस-एमालेले विश्वास गर्न नसकेको बताउनुभयो ।

उहाँले संवैधानिक प्रणालीअनुसार बहुमतीय सरकार निर्माणको चरण प्रवेश भए पनि राजनीतिक रूपमा सहमति कायम गरी संयुक्त राष्ट्रिय सरकार बनाउने प्रयास नछाडिने बताउनुभयो ।

नेपाली काङ्ग्रेसका महामन्त्री विमलेन्द्र निधिले बैठकमा व्यापक र गम्भीर छलफल भए पनि सहमति बन्न नसकेको बताउनुभयो । उहाँले शान्तिप्रक्रियाका बाँकी काम लडाकूको समायोजन, अर्धसैनिक संरचनाको वाईसीएल विघटन, कब्जा गरिएको घरसम्पत्ति फिर्ताजस्ता विषयमा माओवादी सहमत हुन नसकेको जानकारी दिनुभयो ।

"विस्तृत शान्तिसम्झौतालगायत पूर्वसहमतिहरूलाई टेकेर जाऔँ भन्ने हाम्रो कुरा रहृयो", महामन्त्री निधिले भन्नुभयो, "तर माओवादी त्योभन्दा बाहिर गएर प्रस्ताव अगाडि सारिरहेको छ । सहमतिभन्दा बाहिर गएर समूहगत समायोजन, छुट्टै नयाँ सुरक्षा बल, सबै लडाकूको समायोजनजस्ता कुरा माओवादीले गरिरहेको छ ।"

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks