Loving nepal news

Saturday, July 24, 2010

'कम्युनिष्ट मिले साम्यवाद संभव छ'

रासस

काठमाडौ, श्रावण ८ - मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र नयाँ संविधान लेख्नका लागि आफूहरू मिलेर अघि बढ्न सक्ने बताएका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले आफूहरू मिल्न सकेमात्र नेपालमा जनवाद-समाजवादहुँदै साम्यवादमा पुग्न सकिने धारणा राखेका हुन् ।

नेकपा (एकीकृत) केन्द्रीय समितिद्वारा शनिबार आयोजित कम्युनिस्ट आन्दोलनका संस्थापक कार्ल मार्क्सको बहुचर्चित पुस्तक 'पुँजी' का तीनै खण्डको नेपाली संस्करणको सार्वजनिक कार्यक्रममा एउटै मञ्चबाट दुई नेता साम्यवाद संभावभएको जिकीर गरेका हुन् ।

माओवादी दाहालले नेपाली कम्युनिस्ट आन्दोलनप्रति नेपाली जनतामा ठूलो विश्वास रहेकाले सबै कम्युनिस्ट पार्टी एक भएर यो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

संविधानसभामा रहेका सबै कम्युनिस्ट पार्टी मिल्नसके कम्युनिस्टको ६६ प्रतिशत मत हुने स्पष्ट पार्दै उनले सबै कम्युनिस्ट पार्टी मिलेमा मात्र शान्ति र संविधानलाई टुङ्गोमा पुर्‍याउन सकिने विचार व्यक्त गरे ।

संविधानसभामा रहेका सबै कम्युनिस्ट दललाई एकै ठाउँमा उभिन आग्रह गर्दै अध्यक्ष दाहाले भने, 'सबै कम्युनिस्ट एउटै कित्तामा उभिने हो भने यथास्थितिवाद र दक्षिणपन्थलाई परास्त गर्न सकिन्छ ।'

नेपालमा कम्युनिस्ट दलहरू धेरै भए पनि अहिले खासगरी वामपन्थी, मध्यपन्थी र दक्षिणपन्थी गरी तीन किसिमका विचार मात्र रहेकाले सबैले कम्युनिस्ट सिद्धान्तको सच्चाइलाई नछाडेमा नेपालमा एउटै मात्र कम्युनिस्ट पार्टी हुनसक्ने उनको भनाइ थियो ।

एमाले अध्यक्ष खनाललाई प्रधानमन्त्री पदका निम्ति समर्थन गर्नुमा आफूहरूको कुनै 'रणनीति' नभएको बताउँदै दाहालले नेपाली समाजमा जबर्जस्त प्रभुत्व जमाएको यथास्थितिवाद र दक्षिणपन्थलाई परास्त गराउने साहसस्वरुप उनलाई समर्थन गरिएको दाबी गरे ।

एमाले अध्यक्ष झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलन विगतको भन्दा व्यापक भएकाले यस अवसरलाई सबै कम्युनिस्टले सदुपयोग गर्नसके यसले थप परिवर्तनका लागि आन्दोलनको आँधीबेहरी ल्याउन सक्ने बताए ।

नेपाली कम्युनिस्टमा शान्ति प्रक्रियालाई पूर्णतामा पुर्‍याउने, लोकतान्त्रिक संविधान लेख्ने, राज्य पुनर्संरचना गर्ने, आर्थिक क्रान्तिको प्रक्रियाको सुरुआत गर्ने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने साझा कार्यभार आएको उनको भनाइ थियो ।

उनले संविधानसभाभित्र देखिएको सङ्कटमोचनका लागि तत्काल माओवादी, काँग्रेस र एमालेसहित सबै दल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

मुलुकमा यतिका परिवर्तन आउनुमा अन्य लोकतान्त्रिक शक्तिको पनि योगदान रहेकाले उनीहरूलाई बेवास्ता गर्न नहुने उनको तर्क थियो ।

एकीकृतका अध्यक्ष ऋषिराम शर्मा कट्टेलले वैचारिक संर्घषलाई ठीक बाटोमा ल्याई अब सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताए ।

पुस्तकको अनुवादक तथा एकीकृतका पोलिटब्यूरो सदस्य युवराज पन्थीले २०२८ सालमा जेलमा बस्दा गरेको सङ्कल्प अनुरुप पुस्तकलाई अनुवाद गरेको उल्लेख गरे ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks