Loving nepal news

Friday, July 30, 2010

मुलुकभरि ७७ प्रतिशत रोपाइँ * पूर्वी पहाडमा कम


कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १५ - मुलुकभरि ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार उच्च पहाडमा ८७, मध्यपहाडमा ८५ र तराईमा ७३ प्रतिशत धान रोपाइँ भएको छ । यो गत वर्षभन्दा निकै राम्रो रहेको मन्त्रालयको दाबी छ । गत वर्ष साउन १८ गतेसम्म औसत ४४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यस्तै गत वर्ष उच्चपहाडमा ८५, मध्यपहाडमा ७८ र तराईमा ५२ प्रतिशत थियो ।

पश्चिमबाट पूर्वतर्फ लाग्दा क्रमशः धान रोपाइँको प्रतिशत पनि घट्दै गएको छ । सुदूरपश्चिममा ९४, मध्य पश्चिम ८५, पश्चिमाञ्चल ८३, मध्यमाञ्चल ७४ र पूर्वाञ्चल विकास क्षेत्रमा ६५ प्रतिशत रोपाइँ भएको तथ्यांक छ ।

गत वर्षभन्दा यसपालि मनसुन छिटो सुरु भए पनि खण्डवृष्टिका कारण कतिपय ठाउामा रोपाइँ सुचारु हुन नपाएको मन्त्रालयका प्रवक्ता हरि दाहालले बताए । गत वर्ष जुन २३ मा मनसुन सुरु भएकामा यसपालि १७ भएको हो । 'तर मनसुन बलियो र सबै ठाउामा एकनाशको हुन सकेन,' उनले भने, 'यसपालि सामान्य अवस्थामा भन्दा करिब २० प्रतिशत कम पानी परेको छ ।'

काठमाडौं उपत्यकामा असार-साउनमा सरदर ३ सय ५६ मिलिलिटर पानी पर्ने गरेकामा यसपालि २ सय ९१ मिलिलिटर मात्रै परेको तथ्यांक छ । 'पहाडमा अब बढीमा १० दिन मात्र रोपाइँ गर्न सकिन्छ,' उनले भने, 'तराईमा भने साउनभरि रोपाइँ गर्न सकिन्छ ।'

सिरहामा ३५, धनुषा ५५, झापा ८० र सुनसरीमा ७५ प्रतिशत रोपाइँ भएको छ । यस्तै बाँकेमा ६८, बर्दिया ९९ र कञ्चनपुरमा ९० प्रतिशत रोपाइँ भएको तथ्यांक छ । भक्तपुर ९०, लमजुङ ९५ र पर्वतमा ७८ प्रतिशत रोपाइँ भइसकेको छ । पूर्वी पहाडमा भने तुलनात्मक रूपमा कम रोपाइँ भएको छ । पााचथरमा ४०, तेह्रथुममा ५०, खोटाङमा ५० र धनकुटामा ६० प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

सिँचाइको सुविधा कम भएकाले किसानले धान रोप्न आकासेपानीमा भर पर्नुपरेको छ । मुलुकमा करिब ११ लाख हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको बताइए पनि त्यो मनसुनमा आधारित छ । बाह्रै महिना सिँचाइ सुविधा पुग्ने क्षेत्र भने ४ लाख हेक्टर मात्रै भएको तथ्यांक छ ।

गत वर्ष खडेरीका कारण किसानले समयमा रोपाइँ गर्न नपाएकाले त्यसको प्रत्यक्ष असर उत्पादनमा परेको थियो । सोही कारण धानको उत्पादन ११ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४५ लाख २४ हजार टन धान उत्पादन भएकामा गत आर्थिक वर्षमा झन्डै ५ लाख टनले घटेको हो । उत्पादन घटेकाले कृषि वृद्धिदरसमेत १ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । कृषिको कुल गार्हस्थ उत्पादन (एजिडिपी) मा धानको योगदान झन्डै २० प्रतिशत छ । चालू आवमा ८५ लाख ५० हजार टन खाद्यान्न उत्पादन गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये धान ४६ लाख १५ हजार टन उत्पादन गर्ने लक्ष्य छ । देशभरि करिब साढे १४ लाख हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks