Loving nepal news

Tuesday, July 20, 2010

यसरी हुदैछ प्रधानमन्त्रीको निर्वाचन

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण ५ - प्रधानमन्त्री चयनका लागि बुधबार व्यवस्थापिका संसदमा मतदान हुदैछ । प्रधानमन्त्रीका लागि मुख्य तीन दलले उम्मेदवारी दर्ता गराएका छन् । विहान ११ बजेपछि बस्ने संसदको बैठकमा मत विभाजनका आधारमा प्रधानमन्त्री चयन गरिनेछ । बैठकको सुरुमा दर्ता क्रम अनुसार प्रस्तावकले प्रस्ताव राख्ने र समर्थकले समर्थन जनाउने तथा छलफलमा भाग लिन चाहने सभासदले बोल्ने क्रम सकिएपछि कुनै प्रस्तावकले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि बाँकी रहेका प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् । हुन्छ भन्ने पक्षका सदस्यहरुले बर्णानुक्रम अनुसार नामावलीमा हस्ताक्षर गर्ने र हुन्न भन्ने सभासदहरुले पनि त्यसैगरी हस्ताक्षर गर्नुपर्नेछ । मत सच्याउन समय दिइएपछि मत विभाजनका आधारमा नतिजा सार्वजनिक गरिने संसद सचिवालयले जनाएको छ । कुनै पनि प्रस्तावले स्पष्ट बहुमत प्राप्त नगरेसम्म निर्वाचन प्रकृया दोहोरिइरहने छ ।

संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत प्राप्त प्रस्ताव पारित भएको मानिने जानकारी दिए ।

व्यवस्थापिका संसदमा ५ सय ९९ सदस्य रहेकाले निर्वाचित हुन ३ सय मत ल्याए पुग्नेछ ।

यसअघि सवा १० वजे कार्यव्यवस्था परामर्श समितिको बैठक वस्दैछ । निर्वाचनका क्रममा कुनैपनि दलका उम्मेदवारको बहुमत नआए के गर्ने भन्नै सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks