स्याङ्जा, जेष्ठ ७ - एमाले महासचिव ईश्वर पोखरेलले माओवादीका लडाकु ठेगान नलागेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र संविधान जारी नहुने बताएका छन् । जिल्ला युवा संघ स्याङ्जाको आठौं जिल्ला सम्मेलनलाई शुक्रवार गल्याङ्गमा सम्बोधन गर्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
सनान्तर बन्दुक र सैन्य संरचना रहेसम्म संविधान बन्न नसक्ने बताउँदै पोखरेलले भने 'जबसम्म शिविर खाली हुँदैन र लडाकुको हातमा बन्दुक हुन्छ, तबसम्म संविधान बन्दैन ।' जनताले चाहेको शान्ति स्थापना र लडाकु नागरिक जनता भए आफ्नो पार्टी सहमतीको लागि बाधक नभएको उल्लेख गर्दै उनले भने 'कन्टेनरमा हतियार थन्काएपनि लडाकुका हात-हातमा हतियार छन् । जबसम्म ती हतियार नष्ट गरिंदैन, तबसम्म शान्ति प्रक्रिया टुङ्गोमा पुग्दैन ।'
प्रधानमन्त्रीको राजीनामाको कुरा निकाल्दै पोखरेलले सरकार भन्ने चिज पसलको किन्ने सामान नभएको र चाहिंदा किन्ने र नचाहिंदा फाल्ने विषय नभएको बताए । उनले भने 'माधवकुमार नेपाल लिगलिग कोटको दौड जस्तो दौडेर जिती प्रधानमन्त्री भएका होइनन् ।'
अन्तरिम संविधानमा उल्लेखित विधि अनुसार प्रधानमन्त्री बनेका नेपाललाई विधि र प्रक्रियाले मात्र हटाउन सकिने पोखरेलको दाबी थियो । 'अन्तरिम संविधान एमाओवादीका अध्यक्ष प्रचण्डले पनि हस्ताक्षर गरी जारी गरेका हुन्,' उनले सरकारको वैधानिकताको प्रसङ्गमा भने, 'आफै उत्ताउलो भएर सरकार छाडेर जाने अनि पुन सरकारकै लागि सडक आन्दोलन गरेर जनतालाई दुःख दिने ।'
युवा संघ, नेपालका अध्यक्ष महेश बस्नेतले माओवादी कम्युनिष्ट पार्टी नभएको उल्लेख गर्दै जनताको डर, त्रास र मृत्युको कारण भएको हसिया हथौडा मजदुरको नभएको बताए । उनले भने 'हासियाले जनता घाँटी रेटिएको छ र हथौडाले टाउको फोरिएको छ' ।
बस्नेतले माओवादीले हत्यारालाई प्रश्रय दिएको बताउँदै जनतालाई लुटपाट गर्न र आतंक मच्चाउने अभ्यास गराएको बताए । माओवादीले बहुदलीय संविधान नचाहेका कारण संविधान बनाउने कामलाई माओवादीले प्रमुखता नदिएको आरोप लगाउँदै बस्नेतले भने 'माधव नेपाल कठपुतली नभई कहिले नेवारी पोषाक लगाएर नेवाः राज्य घोषणा गर्ने, कहिले गुरुङ्ग पहिरन लगाएर तमुवान राज्य घोषणा गर्ने प्रचण्ड नै कठपुतली हुन् ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks