प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा र आफ्नो नेतृत्वमा सर्वदलीय सरकारको माग गर्दै माओवादीले आयोजना गरेको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन मंगलाबार पनि देशभरको जनजीवन ठप्प भएको छ । यातायात,बजार,शैक्षिकसंस्था,उद्योग कलकारखाना लगायत सबै पूर्णतः ठप्प रहेको छ ।माओवादी कार्यकर्ताले बिहान अनामनगरमा खुलेका दुई दर्जन बढी पसलमा तोडफोड गरेका छन् । डेरी,चिया,किराना र तरकारी पसलमा तोडफोड गरिएको हो । माओवादी कार्यकर्ताले एक्कासि आएर पसलमा तोडफोड गरेको व्यवसायीले जनाएका छन् । राजधानी लगायत मुलुकभर माओवादी कार्यकर्ता बिहानैदेखि सडकमा छन् । लाठी लिएर माओवादी कार्यकर्ता राजधानीमा उत्रिएका छन् । माओवादीले आज राजधानीमा चक्रपथ घेर्ने कार्यक्रम राखेको छ । अपरान्ह ४ बजेपछि चक्रपथ घेरिने माओवादीले जनाएको छ । उसले उक्त कार्यक्रमलाई रातो चक्रपथ नाम दिएको छ ।
छिटफुट घटनाबाहेक हडताल शान्तिपूर्ण रहँदै आएको छ । प्रमुख तीन दलबीच दुई पक्षीय र त्रिपक्षीय वार्ताहरु भइरहेपनि निष्कर्षमा पुग्न सकेको छैन ।
राजधानीमा दोस्रो दिन गोंगबुमा प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडप भएको थियो । लगातार जारी आमहडतालले बजारमा अत्यावश्यक उपभोग्य सामग्रीको अभाव हुँदै गएको छ भने वस्तु भाउ बढेको छ । अर्कोतिर आफूले उत्पादन गरेको सामग्री बिक्री गर्न नपाउँदा आक्रोशित बनेका किसानहरुले सडकमा तरकारी फालेर बिरोध सुरु गरेका छन् । बिरामीहरु समयमा अस्पताल पुग्न सकिरहेका छैनन् । अस्पतालमा स्वास्थ्यकर्मीहरुको उपस्थिति पनि कम रहने गरेको छ । बजार बन्द भएका कारण बिरामी र उनका कुरुवाले खाने कुराको अभाव झेलिरहेका छन् । बैंकिङ्ग क्षेत्रले पनि कारोबार नगर्दा झन समस्या भएको छ । बजारमा रिचार्ज कार्डको अभाव पनि देखिन थालेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks