काठमाडौं, वैशाख २३ - माओवादीको आमहडताललाई छक्याएर एक जना मन्त्री बुधबार हिँडेरै कार्यालयमा गएका छन् । माओवादीको विरोध कार्यक्रम जारी रहेकै सडक हुँदै सिंहदरबारस्थित कार्यालय जाने मन्त्री हुन् श्रम तथा यातायात मन्त्री मोहम्मद आफ्ताव आलम ।
मन्त्रीहरूलाई सिंहदरबार प्रवेशै गर्न नदिने माओवादी कार्यक्रमलाई चुनौती दिँदै उनी मध्याह्न १२ बजे मूल सडकै सडक हिँडेर कार्यालय गएको उनका सहयोगीले बताए । सहयोगीका अनुसार प्रहरीले आफ्नो स्कर्टिङमा मात्र जान गरेको आग्रह अस्वीकार गर्दै उनी सर्ट, पाइन्ट र चस्मामा ठाँटिएर साढे १२ बजे कार्यालय पुगेका थिए ।
स्रोत अनुसार हरिहरभवनस्थित मन्त्री क्वार्टरबाट कुपन्डोल, थापाथली चोक हुँदै हिँडेर सिंहदरबार पुग्दा आलमको अगाडि पछाडि सुरक्षाकर्मीको ठूलो दस्ता थिएन, उनका साथमा सादा पोसाकका एक जनामात्र सुरक्षाकर्मी थिए । उनी सडकमा हिँड्दा त्यहाँ हजारौं माओवादी कार्यकर्ता नाराबाजी गरिरहेका थिए । सिंहदरबारमा मन्त्रीहरूलाई प्रवेशै गर्न नदिन सडकभरि बसेका माओवादीका नेता तथा कार्यकर्ताले सामान्य पोसाकमा कार्यालय गइरहेका मन्त्रीलाई चिनेनन् । त्यसैले उनलाई कसैले पनि अवरोध गरेन ।
स्रोतका अनुसार अरू धेरैजसो मन्त्री भने माओवादीको विरोध कार्यक्रम सुरु हुनुअगावै बिहान झिसमिसेमै सिंहदरबार प्रवेश गरेका थिए । बिहानै कार्यालय पुगेका मन्त्रीहरूमा विजयकुमार गच्छदार (भौतिक योजना तथा निर्माण), प्रकाशशरण महत (ऊर्जा), भीम रावल (गृह), शंकर पोखरेल (सूचना तथा सञ्चार), मिनेन्द्र रिजाल (संस्कृति), बालकृष्ण खाँण (सिँचाइ), प्रेमबहादुर सिंह (कानुन तथा न्याय), रकम चेम्जोङ (शान्ति तथा पुनर्निर्माण), डम्बर श्रेष्ठ (भूमिसुधार), प्रभाकर प्रधानांग (सामान्य प्रशासन), मृगेन्द्रकुमार सिंह यादव (कृषि), महेन्द्र यादव (उद्योग) र राजेन्द्र महतो (वाणिज्य), उमाकान्त चौधरी (स्वास्थ्य), सर्वदेव ओझा (महिला तथा बालबालिका), दीपक बोहरा (वन) लगायत छन् ।
मन्त्रीहरूको पहिलो समूह बिहान ३: ३८ मिनेटमा सिंहदरबार छिरेको थियो । बाँकी अन्य पनि चार बजेअघि नै प्रवेश गरेका थिए । महानगरीय प्रहरी आयुक्तको कार्यालयसित पुल्चोकदेखि सिंहदरबारसम्मको सडकमा आन्दोलनकारी नआइपुगेको सूचना लिएपछि उनीहरू हतारहतार कार्यालय गएका थिए । प्रहरी स्रोतका अनुसार मन्त्रीहरू पुल्चोकबाट सिंहदरबार आउँदा सडकमा एक जना पनि माओवादी कार्यकर्ता थिएनन् । मन्त्रीहरू यसअघि पनि ४ देखि ५ बजेभित्रमा सिंहदरबार प्रवेश गर्दै आए पनि माओवादी भने सधैंजसो बिहान ६:३० बजेमात्र सडकमा देखापर्न थालेका थिए ।
कार्यालय गएका ती मन्त्रीहरूलाई भने प्रहरीले सिंहदरबारसम्म स्कर्टिङ गरेको थियो । प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्या भण्डारी भने बुधबार कार्यालय गएनन् । उनीहरू दुवै माओवादीको आमहडताल सुरु भएपछि एक दिन पनि कार्यालयमा गएका छैनन् ।
सबैजसो मन्त्रालय र निकायका सचिव कार्यालय समयअगावै सिंहदरबार पुगेका थिए । बिहानै मन्त्रालयमा आएका मन्त्री र सचिवहरूलाई सिंहदरबारभित्रैको राष्ट्रिय अनुसन्धान विभागमा खाना बनाएर खुवाइएको थियो । माओवादी हडताल सुरु भएपछि सिंहदरबारमा बिहानै आइपुग्ने उच्च अधिकारीहरूलाई विभागमै खुवाउने गरिएको छ । सहसचिव, उपसचिव, शाखा अधिकृत तथा सहायकस्तरका कर्मचारी भने १० देखि ११ बजेबीच कार्यालय आएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks