Loving nepal news

Thursday, May 20, 2010

असी रुपैयाँ महसुल तिर्न तीन हजार खर्च

पर्वत, ६ जेठ (दैनिकी)

दुर्गम गाउँका बासिन्दा विद्युत्को सुविधा पाए पनि महसुल तिर्नका लागि हजारौं खर्च बाध्य छन्। गाउँमा महसुल तिर्ने व्यवस्था नहुँदा हजारौं खर्चेर सदरमुकाममा रहेको नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा आउनुपरेको हो। दक्षिण पर्वतको टकलाक गाविसका बासिन्दा यस्तो समस्यामा परेका हुन्। गाविसका करिब १५० घरपरिवारलाई विद्युत् महसुल बुझाउन सदरमुकाम आउनुपर्ने बाध्यता छ। सदरमुकाम कुस्माबजारबाट दुई दिनको पैदल दूरी तथा एक दिनको गाडीको यात्रामा पुगिने टकलाक गाविसका सर्वसाधारणले गाउँमै मोबाइल काउन्टर सञ्चालन गर्न माग गरेका छन्। टकलाकसँगै दक्षिणी शालिग्राम, कुर्घा, लुङ्खुदेउराली, बालाकोटलगायतका गाविसवासी हजारौँ रुपैया खर्चेर महसुल बुझाउनका लागि सदरमुकाम आउने गरेका छन्।
छिमेकी स्याङ्जा र पर्वतमा पर्ने कालीगण्डकी ए जलविद्युत् परियोजनाबाट उत्पादित विद्युत् उपभोग गर्दै आएका टकलाक १, २ र ४ वडाका वासिन्दाले भने आलोपालो प्रणाली लागु गर्ने गरेका छन्। यी वडामा बसोवास गर्ने १३५ घरधुरीले सामाजिकरुपमा मेलमिलापको वातावरण सिर्जना गरी सहकार्यमा महसुल भुक्तानी गर्दै आएका छन्।
उनीहरु अनावश्यक खर्च रोक्न आलोपालो गरेर महसुल बुझाउन सदरमुकाममा रहेको प्राधिकरण कार्यालयमा आउने गरेका छन्। आफूलाई स्याङ्जामा बुझाउन सहज हुने भए पनि पर्वत सदरमुकाममा नै आउन बाध्य भएको स्थानीय तारा न्यौपानेले बताउनुभयो। एकपटक सदरमुकाम पुगेर आउँदा रु तीन हजारभन्दा बढी खर्च हुन्छ निकै समस्यामा परियो– न्यौपानेले भन्नुभयो।
प्राधिकरण पर्वत शाखाले दक्षिणी गाविसका लागि छुट्टै व्यवस्था गर्ने आश्वासन दिएको छ। स्थानीय उपभोक्ता र गाविससमक्ष निवेदन मागेको र निवेदन परेमा स्याङ्जा जिल्लाबाट महसुल तिर्ने व्यवस्था मिलाउन सकिने निमित्त कार्यालय प्रमुख निर्मलकुमार कार्कीले जानकारी दिनुभयो। 'गाउँलेले चासो दिएर लाग्ने हो भने सुविधा पनि पाउनेछन्'– उहाँले भन्नुभयो। रासस

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks