Loving nepal news

Wednesday, May 19, 2010

बगैँचामा लटरम्म आँप फलेपछि किसान दङ्ग

राजविराज, ५ जेठ (दैनिकी)

यो वर्ष यहाँका बगैँचामा लटरम्म आँप फलेकाले जिल्लाका किसान दङ्ग परेका। गत वर्ष निक्कै घाटा बेहोर्नु परेको दुःखेसो पोख्दै रूपनगरका आँप व्यापारी मोहम्मद उस्मान भन्छन्– 'गत वर्ष ठेक्कामा लिएको बगैँचामा आँप कम फलेकाले घाटा बेहोर्नु पर्‍यो तर यसपटक भने गत वर्षको घाटा पूर्ति होला जस्तो लागेको छ।' आँपको राजधानी भनेर चिनिने सप्तरीमा गत वर्ष ८० प्रतिशतले आँप उत्पादन घट्दा मूल्य अकासिएको थियो।
प्रत्येक वर्ष रु. एक अर्ब भन्दाबढीको आँप उत्पादन हुनेगरेको सप्तरीमा यसपटक लामो खडेरी परे पनि करिब रु ११ अर्ब भन्दाबढीको आँपको कारोबार हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ। उक्त कार्यालयका अनुसार सप्तरीमा पाँच हजार २०० हेक्टरमा आँपखेती गरिए पनि ४ हजार एकसय ५० हेक्टर जग्गामा व्यावसायिकरूपमा आँपको बगैँचा लगाइएको छ। एक वर्ष बिराएर फल्ने आँपको जातको बाहुल्य भए पनि यो वर्ष अत्यधिक मात्रामा आँप फलेको बागबानी अधिकृत जोगेन्द्र कान्दु बताउनुहुन्छ।
जिल्लाको रूपनगर र कञ्चनपुर क्षेत्रमा गतवर्ष मौसमको सुरुमा छिटपुट रूपमा मधुवा रोग देखिएको थियो भने यो वर्ष पानी नपरेकाले हाँगासुक्ने रोग देखिएको छ,। बागबानी अधिकृत कान्दुले भन्नुभयो– 'रोगको रोकथामका लागि कृषकलाई विषादी दिएका छौं।'
सप्तरीको आँप राजधानी काठमाडौं मात्र नभई विराटनगर, हेटौडा, वीरगन्जलगायत देशको अन्य सहरमा पुग्ने गरेको छ। त्यसैगरी भारतको कोलकोता र सिलगुढीबाट पनि आँप व्यापारी सप्तरीमा उत्पादित मालदह आँप खरिद गर्न आउने गरेका छन्। यहाँको मालदह र दसहरी आँप कतार, साउदी अरबलगायत अन्य खाडी मुलुकमा निकासी हुने गरेको छ।
एक तथ्याङ्कअनुसार सप्तरीमा उत्पादित आँपमध्ये २५ प्रतिशत विदेश निकासी हुने गरेको छ जसमा सबै भन्दाबढी सफेदा, मालदह र दसहरी छन्। 'देशको अन्य भागको मालदह र सप्तरीको माटोमा फलेको मालदहको स्वाद र सुगन्धमा आकास–पातालको फरक पाइन्छ' व्यापारी उस्मानको भनाइ छ । देशको सबै भन्दाबढी एकसय १४ गाविस रहेको सप्तरीका प्रत्येक गाविसमा आँपको बोट अत्यधिक भएपनि सङ्ख्यात्मक एवम् गुणात्मकरूपले उत्तरी भावर क्षेत्रको धरमपुर, रूपनगर, घोघनपुर, जगतपुर, कञ्चनपुर, तेरहौता, कुशहा, कल्याणपुर गाविस आँपखेतीका लागि प्रख्यात छन्।
भावर क्षेत्रमा सिँचाइको अभावले अन्य खेतीभन्दा आँपको बगैँंचा लगाउनु लाभदायक मानिन्छ। पूर्व–पश्चिम राजमार्गदेखि उत्तर तथा चुरे पहाडको काखमा रहेको बलान नदीदेखि रूपनगरसम्मको भावर क्षेत्रले जिल्लाको १७ प्रतिशत भाग ओगटेको छ।
जिल्लामा आम्रपाली, मल्लिका, दसहरीलगायत विकसित जातका आँपका बोटको माग कृषकबाट अत्यधिक रहे पनि संभव भएसम्म उपलब्ध हुँदै आएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks