Loving nepal news

Tuesday, May 4, 2010

ह्वात्तै बढे माओवादी समर्थकहरु

काठमाडौं, वैशाख २२ - माओवादीको राजधानी केन्द्रित आन्दोलनमा मंगलबार ह्वात्तै समर्थकहरुको संख्या बढेको छ । आन्दोलनका सहभागी घटेको सूचनाहरु आईरहेको बेला गृह मन्त्रालयले मातहतको तिनै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट खटिएकाहरुले दिएको विवरणले प्रदर्शनकारीको संख्या बढेको देखाएको हो ।
घन्टैपछि एकैसाथ संकलन गरिएको विवरण अनुसार मंगलबार बिहान दश बजे राजधानीको दुई जिल्लामा १९ हजार ६ सय ३० माओवादी समर्थक प्रर्दशनकारीहरु सडकमा थिए । त्यो संख्या एक बजे २२ हजार ९ सय पुगेका थियो भने दुई बजे २७ हजार सात सय पुगेको थियो ।
त्यस लगत्तै चार बजे चक्रपथमा 'हाते साङ्गलो' कार्यक्रममा माओवादी कार्यकर्ताको संख्या अझ बढेको देखिएको छ । काठमाडौबाट निर्वाचित माओवादी सभासदहरु मंगलबार समर्थक बढाउन घरदैलो गर्दै हिंडेकाले यो संख्या बढेको हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपरान्ह सवा चारबजे चक्रपथ परिक्रमा गरिरहँदा प्रहरीले एकैसाथ लिएको विवरणमा ६८ हजार पुगेको थियो । त्यसरी संकलन गरिएको विवरण महानगरीय आयुक्तको कार्यालयले तत्कालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पठाएको थियो ।
प्रर्दशनका क्रममा चक्रपथ घुमेका मानवअधिकारकर्मीहरुले माओवादी कार्यकर्ताको संख्या ८० हजारको हाराहारी भएको बताएका छन् । माओवादीका नेताहरुले भनेहातेमालो कार्यक्रममा लाखौ स्थानीयवासी र कार्यकर्ता सहभागी भएको बताएका छन् ।
 चक्रपथको २७ दशमलब ८ किलोमिटरको क्षेत्रमा एक मिटरमा दुई जनाले हात समातेर लाइन बस्दा ५४ हजार हुने प्रहरीको अनुमान छ । तर दुई लाइन बसेका कारण माओवादीको संख्या एकाएक बढी देखिएको हो । हाते सांग्लोका क्रममा माओवादी कार्यकर्ताहरु दुई तिहाई भन्दा बढी क्षेत्रमा कुहिनो जोडेर लाइन बसेका थिए भने बाँकी भागमा एक लहरमामात्रै बसेको देखिन्थ्यो । चक्रपथको सबै क्षेत्रमा दुई लाइन कुहिनो जोडर लहरमा बस्दा एक लाख भन्दा बढी मानिस अटने अनुमान छ ।
माओवादीको प्रर्दशनमा एकाएक सहभागी बढेपछि र मन्त्रीहरुलाई सिंहदरवार पस्न नदिने चेतावनी आएपछि गृह मन्त्रालयले राजधानीको सुरक्षा व्यवस्थाबारे नयाँ ढंगले सोच्न थालेको छ । मन्त्रालयमा मंगलबार साँझ तिनै सुरक्षा निकायका प्रमुख र काठमाडौका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठक बसको थियो ।
प्रहरीले समयमा खाना र पानी खान पाए
आमहडतालका क्रममा खटिएका प्रहरीले मंगलबार भने तिर्खा मेट्ने गरी पानी र समयमा खाना खान पाएका छन् । वितरण प्रणाली राम्रो नभएका कारण सुरक्षाकर्मीले दुई छाक खाना, दिउसोको खाजा र पर्याप्त पानी नपाएको गुनासो गर्दै आएका थिए । राजधानीमा खटिएका सबै सुरक्षाकर्मीलाई मंगलबार नेपाल प्रहरी क्लबमा प्रशोधन गरिएको शुद्ध  पानी जार र बोतलमा राखी वितरण गरिएको थियो ।
समयमा खाना नपाएको गुनासो कपनस्थित दंगा प्रहरी गणबाट खटिएका सुरक्षाकर्मी थियो । उनीहरुले बिहानको खाना चार बजे राती नै खाएर सिंहदरवारको ड्यूटी गर्न पाँच बजे खटिनुपर्दथ्यो । त्यसरी खटिनेहरुले रातीको खाना १० बजे मात्रै पाएपछि चर्को गुनासो गरेका थिए । त्यसरी खटिनेहरुले दुई दिनसम्म दिउसो खाजा र पर्याप्त पानी समेत नपाएको गुनासो गर्दै आएका थिए । आमहडतालको तेस्रो दिन मंगलबारदेखि भने सबैले समयमै खाना र खाजा खर्च वापत सय रुपैया पाउन थालेका छन ।  बिहान चार बजे र राती दश बजे खाना खाइरहेकाहरुले मंगलबारदेखि बिहानको खाना शहरभित्रैको युनिटहरुको भान्साबाट दश बजे खान थालेका छन् ।
सरकारको बिरोधमा उत्रिएका माओवादी पार्टी कार्याकर्ताहरुले भने आफूखुशी समयमा खाना, खाजा र ट्यांकरबाट पर्याप्त पानी पाउने गरेका छन् ।   

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks