Loving nepal news

Saturday, May 29, 2010

संविधानसभा म्याद थपको अमेरिका र जापानद्वारा स्वागत

काठमाडौ, जेष्ठ १५ - अमेरिकाले संविधानसभाको म्याद थपिएकोमा स्वागत गर्दै माओवादी पूर्वलडाकूको समायोजन र पुनःस्थापनालगायत शान्तिप्रक्रियासँग सम्बन्धित विषयको कार्यान्वयनका लागि दलहरुले वार्तालाई निरन्तरता दिनु आवश्यक रहेको जनाएको छ ।




नेपालस्थित अमेरिकी दूतावासद्वारा शनिबार जारी विज्ञप्तिमा नेपालका राजनीतिक नेतृत्वले दलगत स्वार्थलाई भन्दा राष्ट्रिय स्वार्थलाई बढी महत्व नदिएको भए संविधानसभाको म्याद थप्ने कार्य सम्भव हुन कठिन थियो भनिएको छ ।



हालको तीव्र राजनीतिक बहसले विगत चार वर्षमा नेपालमा भएको महत्वपूर्ण प्रगतिलाई ओझेलमा पारिरहेको छ भन्दै विज्ञप्तिमा अहिले संवैधानिक प्रजातन्त्रको लक्ष्य अगाडि रहेको अवस्थामा शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र संविधान लेखनका लागि वार्तालाई गति दिन आग्रह गरिएको छ ।



नेपालको इतिहासकै महत्वपूर्ण घडीमा उच्चकोटीको राजनीतिक क्षमता नेपालका नेताहरूले प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नेपाली जनताको आकांक्षामा अमेरिकी सरकारको सधै साथ रहने उल्लेख गरिएको छ ।



व्यवस्थापिका संसदले शुक्रबार मध्यरातमा संविधानसभाको म्याद थप्न गर्नेको निर्णयलाई जापानले स्वागत गरेको छ । जापान सरकारको तर्फबाट यहाँस्थित दूतावासले जारी गरेको बिज्ञप्तिमा यसलाई दलहरुको प्रयासको उपलब्धी भनेको छ । 'यसले आम नेपाली र सरकारलाई लोकतन्त्र र शान्ति प्रकृयाकोलागि उत्साहित बनाएको छ' बिज्ञप्तिमा भनिएको छ ।



व्यवस्थापिका संसदको बैठकले अन्तरिक संविधानको आठौं संशोधन विद्येयक दुई तिहाइ भन्दा बढि मतले पारित गर्दै शुक्रबार मध्यरातमा संविधानसभाको म्याद एक बर्षथप गरेको थियो ।



यद्यपी उसले अन्तरिम संविधानले तोकेका अवधीमा नयाँ संविधान लेखन कार्य नसकिनुलाई दुःखद भनेको छ । बिज्ञप्तिमा जापान लोकतन्त्रलाईसमेत मजबुत बनाउने गरी शान्ति प्रकृयाको तार्किक अन्त्य दलहरुबीचको संवादबाट नै हुने आशा व्यक्त गरेको छ ।



गणतन्त्र दिवसको अवसरमा जारी बिज्ञप्तिमा गणतन्त्र दिवस संविधानसभाको गरेको आफ्ना पुन: प्रतिबद्धता दोहोर्‍याउने अवसकार भएको पनि उल्लेख गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks