काठमाडौ, जेष्ठ १३ - राष्ट्रपति रामवरण यादवले सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । संविधानसभाको म्याद सकिन एक दिन मात्र बाँकी रहँदा उनले बिहीबार शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर सहमतिमा संविधानसभाको म्याद थप गर्न आग्रह गरेका हुन् ।
माओवादीले संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्रीको राजीनामालाई पूर्व शर्त र प्याकेजमै सहमति गर्नुपर्ने सत्तारुढ दलको अडानका कारण सहमति जुट्न सकेको छैन । सहमति नजुटिरहेको बेला राष्ट्रपति यादवले राजनीतिक संकट र त्यसको निकासका सम्बन्धमा दलहरुसंग परामर्श गरेका छन् । राष्ट्रपतिले मुुलुक गम्भीर मोडमा पुगेको भन्दै सहमतिका साथ अघि बढ्नुको विकल्प नभएको बताए । उनले दलहरुबीच मिलन बिन्दु खोज्न अनुरोध गरेका थिए ।
डेढ घण्टा लामो बैठकमा राष्ट्रपतिले देखिएको राजनीतिक अन्यौलता बारे चासो राखेका थिए । एमाले अध्यक्ष झलनाथ खनालका अनुसार राष्ट्रपतिले सहमतिका लागि आग्रह गरे । सहमतिका लागि भएका प्रयासका विषयमा पनि उनले जानकारी लिएका थिए । 'मतभेद अन्त्य गरेर सहमति निर्माण गर्नुहोस,संविधानसभाको आयु बढाउँदै शान्ति र संविधान निर्माणको प्रक्रियामा मुलुकलाई अगाडि लानुहोस,'राष्ट्रपतिको भनाई उदृत गर्दै खनालले भने- 'उहाँले आफ्नो इच्छा र शुभेच्छा राख्नुभयो ।'
म्याद थपका लागि राष्ट्रपतिले गरेको आग्रहलाई आफूहरुले सकारात्मक रुपमा लिएको उनले बताए । आजको भेटवार्ताले सहमतिका लागि दरिलो वातावरण बनाएको खनालले प्रतिक्रिया दिए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले नै धेरै कुरा भइनसकेको र सहमतिको प्रयास जारी रहने बताए । यसैबीच सहमतिको खोजीमा तीन दलको बैठक ११ बजेपछि बस्ने भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks