काठमाडौ, वैशाख २६ - माओवादीले आइतबार सिंहदरवार घेराउ गरेको छ । घेराउका क्रममा माइतीघर मण्डलामा माओवादी र प्रहरीबीच झडप भएको छ । झडपमा जनपथ प्रहरीका एकजना डिएसपी र एकजना पत्रकारको टाउको फुटेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कयौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।
माओवादी कार्यकर्ताले एक जानालाई सुराकीको आरोप लगाउँदै कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो । निषेधित क्षेत्र घोषणा गरिएको नजिकै माओवादीले प्रदर्शन गरिरहेका थिए । डिएसपी भोला रावल सहित तीन प्रहरी र दर्जनौ माओवादी कार्यकर्ता घाइते भएका छन् । माओवादीले एभीन्युजका क्यामरा म्यान रविन्द्र श्रेष्ठलाई कुटपिट गर्दै उनको क्यामारा खोसेको छ ।
छतबाट गोली चलाएको भन्दै माओवादीले दुई जना नियन्त्रणमा लिएर राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाएको छ । उनीहरु राष्ट्रिय अनुसन्धानका कर्मचारी हुन् । कुनै आक्रमण नगरेको उनीहरुले बताएका छन् । खुकुरी लिएर प्रदर्शनमा घुसपैठ गरेको आरोपमा माओवादीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दवाब पछि अनिश्चितकालीन आमहडताल फिर्ता लिएको माओवादीले आन्दोलनको स्वरुप बदलेको छ । राजधानीमा मुख्य प्रशासनिक केन्द्र सिंहदरवार र जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ ।
बिहान ९ बजेबाट सिंहदरवारलाई चारै तिरबाट घेराउ गरिएको छ । मन्त्री तथा कर्मचारीलाई मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा छिर्न नदिने रणनीति उसले लिएको छ । यद्यपी केही मन्त्री तथा उच्च अधिकारीहरु बिहानै सिंहदरवार पुगिसकेका छन् । सिंहदरवार क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको छ ।
यसैबीच,थप रणनीति तय गर्न माओवादी स्थायी कमिटीको बैठक बसिरहेको छ । आजै जनआन्दोलन परिचालन समितिको बैठक बस्दै छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks