काठमाडौं, वैशाख २२ - आमहडतालको तेश्रो दिनमाओवादीले हजारौं मानव हाते साङलोले मंगलबार राजधानीको चक्रपथ घेराउ गरेको छ । उसले 'रातो चक्रपथ घेराउ' नाम राखी राजधानी घेराउ गरेको हो ।
आन्दोलन परिचालन समितिको बैठकले बुधबारदेखि मन्त्रीहरुलाई सिंहदरबार छिर्न नदिने निर्णय गरेपछि प्रदर्शन अशान्त हुने संकेत देखिएको छ । 'मन्त्रीहरु प्रहरीका गाडी चढेर मन्त्रालय गएका छन्' बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने- 'अब सिंहदरबार छिर्न दिन्नौ ।' मन्त्रीहरु बिहानै पौने पाँच बजे सिंहदरबार जाने गरेकोमा उनले अब रोक्ने बताए । तर उनले बुधबारको हडताल शान्तिपूर्ण हुने दाबी गरे ।
मंगलबार दिनभर राजधानीका प्रमुख स्थानमा नाचागान, नाराबाजी गरेर बसेका माओवादी अपरान्ह भने चक्रपथ घेराउ गर्न गएका थिए । घेराउ कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य कृष्णबहादुर महरा, दीनानाथ शर्मा, वर्षमान पुनलगायतका नेताहरु सहभागी भएका थिए । उनीहरु मिनी ट्रकमा चढेर चक्रपथ परिक्रमा गरेका थिए ।
दाहाल निवास नयाँ बजारबाट माओवादी नेताहरुल दुईवटा ट्रक चढेर बालाजुचोक निस्केका थिए । पहिलो ट्रकमा अध्यक्षसहित वरिष्ठ नेताहरु थिए भने दोश्रो ट्रकमा दोश्रो तहका नेताहरु चढेका थिए ।
चत्रपथको अधिकांश क्षेत्रमा माआवादी कार्यकर्ता र समर्थकले दाहोरो हाते साङ्लो लगाएर उभिएका थिए । बालाजु, गोंगबु, चाबहिल, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकीमा माओवादी कार्यकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो । बल्खुदेखि गोंगबुुसम्म दोहोरो हाते साङलो बनाई उभिएका थिए । प्रमुख चोकहरुमा पनि दोहोरो साङलो थियो । त्यस्तैसडकको दुई किनारा उभिएका प्रदर्शनकारीले बीच भागबाट मानवअधिकार, पर्यटक, प्रेस, अस्पताल, एम्बुलेन्स चल्ने व्यवस्था मिलाएका थिए ।
माओवादी नेताहरुलाई हाते साङलो बनाएर बसेका कार्यकर्ताले पार्टीको र नेपालको झण्डा हल्लाएर स्वागत गरेका थिए । नेताहरुले भने कार्यकर्ता तथा समर्थकहरुलाई हात हल्लाएर 'अभिवादन' फर्काएका थिए । उनीहरुले केही स्थानमा सरकार बिरोधी चर्का नारा लगाउँदै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकारको माग गरेका थिए । नेताहरुको चक्रपथ परिक्रमा बालाजुमा आएर समापन भएको थियो । परिक्रम गर्ने क्रममा दाहालले 'युग जनताले बनाउने हो जनता उर्लिइसकेको छ, अब पछि हट्दैन' उनले भन्दै हिडेका थिए ।
दाहालसहित नेताहरु पानीमा भिज्दै चक्रपथ परिक्रमा गरेका थिए । त्यसअघि बसेको केन्द्रीय पदाधिकारीको बैठकले नेताहरु प्रत्यक्ष रुपमा आन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो । घेराउ कार्यक्रममा कीर्तिपुर, ललितपुर, काठमाडौंको गोंगबु, बालाजुलगायत क्षेत्रका बासिन्दाहरुलाई माओवादी सभासद्हरुले घरमै गई निम्ता गरेका थिए । प्रदर्शनमा मंगलबार स्थानीय बासिन्दाको पनि उपस्थिति देखिन्थ्यो ।
माओवादीले स्थानीय बासिन्दालाई आन्दोलनमा व्यापक सहभागी गराउने रणनीति अनुसार घरघर गएर निम्ता दिएका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks