राष्ट्रपति-प्रधानमन्त्री भेट, सरकार परिवर्तनको सम्बन्धमा हल्लाको पछि नलाग्न प्रधानमन्त्री नेपालको आग्रह
काठमाडौं, २२ चैत(दैनिकी)
राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री माधवकुमार नेपालबीच आइतबार मुलुकमा विकसित पछिल्ला राजनीतिक घटना क्रमलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। उक्त भेटमा राष्ट्रपतिले आपसी विश्वासको वातावरणसहित एकता, सहकार्य र समझदारीका आधारमा राष्ट्रिय सहमति कायम गरी घोषित मितिमा संविधान जारी गरी मुलुकलाई राजनीतिक निकास दिने वातावरण तयार गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँहरुबीच जारी शान्तिप्रक्रिया, संविधान लेखन, मुलुकको समग्र राजनीतिक घटना क्रमलगायत सरकारको प्रभावकारिता सम्बन्धमा विषयमा छलफल भएको राष्ट्रपतिका सल्लाहकार ललित बस्नेतले बताउनुभयो । राष्ट्रपति डा. यादवले हालै सम्पन्न आफ्नो जनकपुर भ्रमणका साथै संविधानबारे स्थानीय जनताले व्यक्त गरेको चिन्ता र प्रक्रियागत ढिलासुस्ती लगायत विषयमा छलफल भएको जनाइएको छ ।
राष्ट्रपतिसँगको छलफलपछि सञ्चारकर्मीहरु सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री नेपालले लडाकू व्यवस्थापनका साथ घोषित मितिमा संविधान जारी गरी मुलुकलाई राजनीतिक निकास दिने प्रतिबद्धता राष्ट्रपतिसमक्ष व्यक्त गरेको बताउनुभयो । आफूले पछिल्ला दिनमा विभिन्न राजनीतिक पार्टीका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवालगायत संविधान निर्माणमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने समाजका विभिन्न तह र तप्काका व्यक्तित्वसँग रायसुझाव लिएको जानकारी दिनुभयो । एक प्रश्नको जवाफमा उहाँले सरकार परिवर्तनसम्बन्धमा आफ्नो पार्टीमा चलखेल नभएको र सरकारका पक्षमा पार्टी रहेको स्पष्ट गर्दै हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks