Loving nepal news

Tuesday, April 6, 2010

आज विश्व स्वास्थ्य दिवस

'हाम्रो सरोकार : स्वस्थ जीवन, स्वस्थ सहर' यसको नारा

काठमाडौं, २५ चैत (दैनिकी)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उमाकान्त चौधरीले सहरहरु सफा र स्वस्थ राखी स्वस्थ जीवनयापन गर्न सबैमा अपिल गर्नुभएको छ। विश्व स्वास्थ्य दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै मन्त्री चौधरीले बढ्दो सहरीकरणका कारण स्वास्थ्यमा प्रतिकूल असर पार्ने जोखिमलाई सम्बोधन गर्ने कार्यको प्रवर्द्धन गर्न यस वर्षको विश्व स्वास्थ्य दिवस सफल हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।
हरेक वर्ष ७ अप्रिलका दिन विश्व स्वास्थ्य सङ्गठनका सबै सदस्य राष्ट्रमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य दिवसको यस वर्षको नारा 'हाम्रो सरोकार : स्वस्थ जीवन, स्वस्थ सहर' भन्ने रहेको छ। नेपालमा पनि सहरमा बस्ने मानिसको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। उन्नति र समृद्धिका लागि सहरमा धेरै अवसर प्राप्त हुन सक्छन् तर सहरका बासिन्दाले स्वास्थ्य सम्बन्धी धेरै चुनौतीको सामना गर्नुपर्ने हु्न्छ। सहरमा बसोबास गर्ने मानिस विशेषगरी गरिबहरु अनुपातिक रूपले धेरै प्रकारका स्वास्थ्य समस्या तथा रोगहरुबाट ग्रसित छन् –मन्त्री चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा यसरी बढ्दो सहरीकरण र जनस्वास्थ्यलाई ध्यानमा राखेर सरकारले सम्बन्धित सबै पक्षमा समन्वय गरी नीति तथा कार्यक्रमहरु बनाउँदै गएको छ र यस कार्यलाई निरन्तरता दिइनेछ। समुदायको सक्रिय सहभागिता भएमात्र वास्तविक रूपमा 'हाम्रो सरोकार : स्वस्थ जीवन, स्वस्थ सहर' भन्ने यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा सार्थक हुने विश्वास उहाँले लिनुभएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks