शान्ति प्रक्रिया र संविधानका निम्ति संयन्त्र प्रतिबद्ध, उच्चस्तरीय राज्य पुनःसंरचना आयोग गठन गर्ने निर्णय
काठमाडौं, १८ चैत (दैनिकी)
उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। आजको बैठक सिंगदरबार स्थित नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बसेको थियो। उक्त बैठकमा तीनै दलका शिर्ष नेताहरुले जेठ १४ गते भित्रै शान्ति प्रक्रियालाइ टुंगोमा पुर्याउने र समय सिमा भित्रै संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा बुधबार काङ्गे्रस संसदीय दलको कार्यालयमा बसेको बैठकले नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८ अनुसार राज्य पुनः संरचनासम्बन्धी व्यवस्था, राज्यको पुनःसंरचना सम्बन्धमा राज्य पुनः संरचना तथा राज्य शक्तिको बाँडफाँट समितिको प्रतिवेदन एवम् उक्त समितिले गरेको प्राविधिक सहयोगको अपेक्षा तथा समितिको प्रतिवेदन उपर संविधानसभामा भएको छलफल र सभाले गरेको अपेक्षालाई दृष्टिगत गरी उच्चस्तरीय राज्य पुनः संरचना आयोग गठन गर्ने निर्णय गरेका छ।
आयोग गठनसम्बन्धी ठोस निर्णय र शान्तिप्रक्रियालाई पूर्णता दिई जेठ १४ गतेभित्रै संविधान जारी गर्ने विषयमा अर्को बैठकमा थप निर्णय गरिने बैठकका सहभागी एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काङ्गे्रसका कार्यवाहक सभापति कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालद्वारा संयुक्तरुपमा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।
केही दिनयता धर्म निरपेक्षता, सङ्घीयता र गणतन्त्रजस्ता ऐतिहासिक उपलब्धिका विरूद्ध सुनियोजितरूपमा भइरहेका शृङ्खलाबद्ध प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले जनताले प्राप्त गरेका उपलब्धिलाई खोस्न चाहने र निर्धारित मितिमा शान्ति स्थापना एवम् संविधान घोषणाको प्रक्रियालाई सफल हुन नदिने प्रतिगामीहरु विरुद्ध एकताबद्ध भएर लाग्ने सङ्कल्प गरेको छ। बैठकपछि पत्रकारसँग कुरा गर्दै नेपाली काङ्गे्रसका उपसभापति रामचन्द्र पौडेलले सबै पार्टीको सहमतिमा राज्य पुनः संरचना आयोगका लागि विज्ञहरूको नामावली प्राप्त भएपछि त्यो नामावली सरकारलाई हस्तान्तरण गरी आयोग गठन गरिने छ भन्नुभयो। माओवादी नेता नारायणकाजी श्रेष्ठले अब उप्रान्त संयन्त्रको बैठक नियमितरुपमा हुने जानकारी दिनुभयो। एमालेका अध्यक्ष खनालले राज्य पुनः संरचना आयोगमा कतिजना पदाधिकारी राख्ने भन्ने विषयमा संयन्त्रको अर्को बैठकमा छलफल गरिने बताउनुभयो।संयन्त्रको अर्को बैठक शुक्रबार बस्नेछ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks