Loving nepal news

Wednesday, April 7, 2010

पर्यटकलाई आकषिर्त गर्न नयाँ नयाँ कार्यक्रम

नवलपरासी, २६ चैत (दैनिकी)

नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी यहाँका व्यवसायी पर्यटकलाई आकषिर्त गर्न नयाँ नयाँ कार्यक्रम ल्याउन लागिपरेका छन् । पर्यटकको आवासका लागि आकर्ष होटल बनाउन र घरमै होमस्टेका लागि कोठा बनाउन यहाँका गाउँले कस्सिएका छन् । प्रगतिनगरको नारायणी नदी किनारमा पर्यटकका लागि होटल बनाइएको छ । ग्रामीण पर्यटनका बारेमा बुझ्न र घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकलाई सुविधा होस् भनेर होटलको व्यवस्था गरिएको एकीकृत पर्यटन विकास समितिका हरिभक्त अधिकारीले बताउनुभयो ।
सौराहा आउने पर्यटकलाई नवलपुरको मध्यवर्ती घुमाउने, थारु संस्कृतिका बारेमा जानकारी दिने, थारुको खाद्य परिकार र रहन सहनको बारेमा बुझ्न र थारु समुदायमा रमाउन सक्ने कार्यक्रमको व्यवस्था गरिने अमलटारी पर्यटन विकास समितिका संरक्षक दुर्गादत्त भण्डारीले बताउनुभयो । नारायणगढबाट ३४ किलोमिटर बसमा यात्रा गरेपछि पुगिने थारु गाउँबाट जङ्गल सफारी गरी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पाइने जङ्गली जनावरसमेत हेर्न सकिने भएकाले नेपाल भ्रमणमा आउने पर्यटकका लागि यो नयाँ गन्तव्य बनेको छ ।
नवलपरासीको गैंडाकोटदेखि त्रिवेणीसम्मको जलयात्रा गरी मनोरम दृश्यको अवलोकन गरी गजेन्द्रमोक्षको दर्शन गरेर जङ्गलमा घुम्दै थारु गाउँ आएर वास बस्नलाई समेत मिल्ने नारायणी धाम पर्यटकीय विकास समितिका थमनारायण शर्माले बताउनुभयो ।
तर्राई भएर पनि गर्मी छल्न सकिने ठाउँ भएकाले रुद्रसेन राजाको दरबार, देवचुलीलगायतका ठाँउमा टे्रकिङबाट पुगेर मगर संस्कृतिको स्वागत संगै रमाउन सकिने हुँदा परिवार घुमाई र जोडीका लागि राम्रो हुने देवचुलीका मीनबहादुर सोतीले बताउनुभयो । उहाँले देवचुली भ्रमणका लागि 'चुली गुफा माई स्थान प्रकृतिकी खानी, देवचुली पर्वतमाला घुम्न जाँउ हामी' भन्ने नारा समेत तय गरेको बताउनुभयो । गाउँमा आउने पर्यटकलाई घरमा राख्न प्रत्येक घरमा कम्तीमा एउटा कोठा छुट्टै बनाउन लागिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks