बारा, १६ चैत(दैनिकी)
बारामा प्रवेशिका परीक्षाको चौथो दिन आज सामाजिक विषयको परीक्षामा एक नक्कली निरीक्षक, दुई नक्कली विद्यार्थी र एक प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ। सदरमुकाम कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा चिट पुर्याएर होहल्ला गर्दैगरेको अवस्थामा नुवाकोट जिल्लमा कार्यरत प्रहरी हवल्दार उपेन्द्र चौधरीलाई पक्राउ गरिएको छ। सोही विद्यालयमा ०३६६५६८ एन नम्बरमा तवरेज देवानको परीक्षा दिँदैगरेका समीर देवानलाई पक्राउ गरिएको छ।
सोही विद्यालयमा नक्कली परीक्षा निरीक्षक बनी चिट चोराउँदै गरेका प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ। त्यसैगरी निजगढस्थित गौरीशङ्कर उच्च माध्यमिक परीक्षा केन्द्रबाट ०३६२५२७५५ एफ सिम्बोल नम्बरका एकानब्बे कुवँरको परीक्षा दिँदैगरेका राजेश गुरोलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जानकारी दिएको छ। पक्राउ परेकाहरू प्रहरी नियन्त्रणमा छन्।
परीक्षामा भएको चिटबारे सञ्चारकर्मीले समाचार प्रकाशित गराएको कारण परीक्षामा कडाई भएको जनाउँदै आक्रोशित हुलले हिजो कलैयास्थित पन्नादेवी मावि परीक्षा केन्द्रनजिक आकाश एफएममा आबद्ध सञ्चारकर्मी दीपेन्द्र चौधरीलाई कुटपिट गरेका थिए। चौधरी चढेका बिआर ५५६४४८ नंको भारतीय नम्बरको मोटरसाइकलसमेत तोडफोड गरे। परीक्षा के–कस्तो भइरहेको छ, त्यसबारे सोध्न आफू पुग्दा कुटपिट भएको चौधरीले बताउनुभयो।
त्यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कलैया मदर्सा परीक्षा केन्द्रमा चिट पुर्याउने विद्यार्थी र अभिभावकमाथि प्रहरीले लाठी प्रहार गर्दा समाचार सङ्कलन गर्न पुगेका सञ्चारकर्मी 'बाइपास' दैनिकका मुकेश यादवलगायत पाँचजना सामान्य घाइते भएका छन्।
पत्रकारलाई कुटपिट भएको घटनाको नगर सुधारक सङ्घर्षशील समिति, कलैयाले भर्त्सना गरेको छ। समितिका अध्यक्ष चन्द्रकिशोरप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै अभिभावकहरूको आक्रोशित हुलले परीक्षा केन्द्रनजिक पुगेका सञ्चारकर्मीलाई कुटपिट गरेको घटनाको भर्त्सना गर्नुभएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks