तत्काल औद्योगिक सुरक्षा वल गठन गरिए पनि कार्यान्वयनमा केही समय लाग्ने
काठमाडौं, १७ चैत (दैनिकी)
प्रधानमन्त्री माधवकुमार नेपालले उद्यमीव्यवसायीको मागबमोजिम शान्तिसुरक्षा लगायत उद्योगमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ, गृह, ऊर्जा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सचिवको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग मङ्गलबार सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्री नेपालले तत्काल औद्योगिक सुरक्षा वल गठन गरिए पनि कार्यान्वयनमा केही समय लाग्ने भएकाले केही समयका लागि साधनस्रोतसहित प्रहरी प्रशासनलाईसमेत थप सक्रिय बनाइने बताउनुभएको प्रधानमन्त्रीका प्रेससल्लाहकार विष्णु रिजालले बताउनुभयो ।
उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि लगानी बोर्ड गठन , लोडसेडिङ घटाइ ऊर्जा सङ्कट न्यूनीकरण, श्रम क्षेत्रका तमाम समस्या समाधान गर्न र अन्तरराष्ट्रिय स्तरको प्रदर्शनीकक्ष स्थापनालगायत उद्यमीव्यवसायीका माग पूरा गर्नेतर्फआवश्यक व्यवस्था गर्न सम्बद्ध मन्त्रीहरूलाई निर्देशन दिनुभयो । प्रधानमन्त्री नेपालले उद्योगी व्यवसायीको मागबमोजिम जडीबुटी र त्यसबाट उत्पादित सामग्रीको निर्यातमा सहुलियतको व्यवस्था, घरेलु उद्योगको प्रवर्द्धन, गिटी, रोडा, बालुवाजस्ता निर्माण सामग्री निर्यातसम्बन्धी नीतिगत कार्यक्रम ल्याउन र निजी क्षेत्रको संलग्नतामा अन्तरराष्ट्रियस्तरको प्रदर्शनीकक्ष निर्माणका लागि जग्गा खोजी गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलमा संलग्न नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेन्द्रबीर मालाकारले जानकारी दिनुभयो ।
उद्योगव्यवसायीले आफ्नो एकमहिने 'अल्टिमेटम'को अवधिमा मुलुकमा शान्तिसरक्षाको अवस्थामा केही सुधार भए पनि आशाअनुरूप सुधार नभएको, ऊर्जा सङ्कटका कारण उद्योगधन्दा धराशायी भएका र उद्योगमैत्री नीति तथा कार्यक्रम आउन नसकेको गुनासो गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । यसैगरी उहाँहरूले औद्यौगिक वातावरण निर्माण गर्न कम्तिमा ६ महिना मुलुकमा बन्द, हड्ताल पूर्णरूपमा रोक्न, र्सार्वजनिक बिदा धेरै भएकाले त्यसतर्फपुनर्विचार गर्न र अन्धाधुन्ध गिटी, ढुङ्गा र बालुवा निकाल्ने काम तुरून्त रोकी वातावरण संरक्षणमा ध्यान दिन आग्रह गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले एक महिनाअघि प्रधानमन्त्री नेपाललाई भेटी शान्तिसुरक्षा सुनिश्चित नगरिए आ-आफ्नो उद्योगधन्दा बन्द गरी साँचो बुझाउने चेतावनी दिएको थियो ।
एकमहिने अल्टिमेटम् पूरा भइसके पनि प्रतिबद्धताअनूरूप सुरक्षा व्यवस्था कायम हुन नसकेको गुनासो गर्दै उद्योगव्यवसायीले पुनः प्रधानमन्त्रीलाई आज भेटेका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks