सरल, त्यागी र मृदुभाषी स्व. कोइराला नेपालको मात्र नभई दक्षिण एसियाको महान् नेता हुनुहुन्थ्यो ।
काठमाडौं, ९ चैत (दैनिकी)
भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष राजनाथ सिंहले हतियारको आडमा राजनीति गर्नखोज्ने पार्टी देश र मानवताको संरक्षण गर्न नसक्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्न आउनुभएका सिंहले रिपोर्र्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा सो कुरा बताउनुभएको हो । प्रजातान्त्रिक प्रणाली अर्न्तर्गत आम जनताको हातमा कदापि हतियार रहन सक्दैन भन्दै उहाँले आजको युगमा बुलेटको सट्टा ब्यालेटको राजनीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
हिंसाको राजनीतिलाई आफ्नो पार्टी कहिल्यै स्वीकार नगर्ने उल्लेख गर्दै पूर्वअध्यक्ष सिंहले नेपालको शान्ति, समृद्धि, स्थायित्व र सुदृढ प्रजातन्त्रका पक्षमा भाजपा सदैव रहेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सहमति कायम गरी अघि बढे नेपालले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा भाजपाका पूर्व अध्यक्ष सिंहले हिन्दुत्वमा विश्वास गर्ने व्यक्ति कहिल्यै पनि साम्प्रदायिक हुन नसक्ने बताउँदै आमनेपालीको भावनाअनुरुप नेपाल पुनः हिन्दुराज्यका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
उत्तरप्रदेशको शिक्षामन्त्री रहँदा सन् १९९२ मा वाराणासीमा आयोजित दीक्षान्त समारोहमा नेपालका तत्कालीन प्रधानमन्त्री कोइरालासँग आफ्नो भेट भएको स्मरण गर्दै उहाँले भन्नुभयो-"सरल, त्यागी र मृदुभाषी स्व. कोइराला नेपालको मात्र नभई दक्षिण एसियाको महान् नेता हुनुहुन्थ्यो ।" पूर्व अध्यक्ष सिंहले यस क्षेत्रका महात्मा गान्धीपछिका वरिष्ठ नेता कोइरालको असामयिक निधनबाट आफू र आफ्नो पार्टी भाजपा मर्माहत भएको बताउनुभयो । सो अवसरमा भाजपाका अर्का नेता विजय जोलीले नेपालको शान्ति, समृद्धि र स्थायित्वका पक्षमा आफूहरु रहेको स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks