संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निधनपछि बसेको यो पहिलो बैठक
काठमाडौं, १३ चैत (दैनिकी)
उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबारको बैठकमा शान्तिप्रक्रिया, संविधान लेखन, राज्य पुनःसंरचना आयोग गठन लगायत विषयमा छलफल भएको छ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा भएको बैठकमा संयन्त्रको संयोजकको विषयमा विवाद नगर्ने र त्यो आपसी सहमतिमा तय गरिने नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बताउनुभयो । राज्य पुनःसंरचना आयोग गठन गर्नेबारेमा तीन दलबीच सहमति भइसकेको बताउँदै उहाँले त्यस सम्बन्धमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको सहमति लिने प्रयास भइरहेको जानकारी दिनुभयो ।
सौहार्द्रपूर्ण वातावरणमा भएको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले संयन्त्रका संयोजक स्वर्गीय गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोकप्रस्ताव प्रस्तुत गर्नेबाहेक अन्य विषयवस्तु समावेश नगरिएको जानकारी दिनुभयो । नेपाली काङ्ग्रेसका संसदीय दलका नेता एवम् उपसभापति रामचन्द्र पौडेलले संयन्त्रको संयोजक दलहरुबीचको परामर्शबाट टुङ्गो लगाउने बताउँदै त्यसमा संविधानसभाका अन्य दलहरुलाई पनि समावेश गरिने उल्लेख गर्नुभयो । यसैगरि बैठकले संयन्त्रका संयोजक एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निधनपछि बसेको यो पहिलो बैठक हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks