Loving nepal news

Monday, March 29, 2010

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष खनालबीच छलफल

विद्यमान राजनीतिक परिस्थितिका विषयमा छलफल

काठमाडौं, १६ चैत (दैनिकी)

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालबीच विद्यमान राजनीतिक परिस्थितिका विषयमा आज छलफल भएको छ। माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा भएको छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेश, विद्यमान गतिरोध अन्त्य र संविधान निर्माणमा देखापरेका समस्याबारे छलफल भएको थियो। छलफलमा आफ्नो दलद्वारा प्रस्तुत अवधारणामा माओवादीले सहमति जनाए संयुक्त राष्ट्रिय सरकार गठन गर्न तयार रहेको एमाले अध्यक्ष खनालले जानकारी दिनुभयो।
एमालेले अहिलेसम्मका सहमतिको पालना र वाइसिएलको संरचना विघटनलगतका अवधारणा प्रस्तुत गरेको थियो। माओवादी अध्यक्ष दाहालले दलहरूबीच छलफलले निरन्तरता पाउनु सकारात्मक विषय भएको बताउनुभयो। उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक गिरिजाप्रसाद कोइरालाको निधनपछि गत शुक्रबार बसेको उक्त संयन्त्रको बैठकले दुईपक्षीय छलफल गर्ने र संयुक्त बैठक बस्ने निर्णय गरेपछि दलहरूबीच छलफल भएको हो।
यसैगरी आजै बिहान एकीकृत नेकपा (माओवादी) र मधेसी जनअधिकार फोरमबीच भएको बैठकमा सरकारको विकल्पबारे छलफल भएको थियो। बैठकले वर्तमान सरकार रहुन्जेल संविधान जारी नहुने निष्कर्ष निकालेको सहअध्यक्ष जेपी गुप्ताले जानकारी दिनुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks