रु. २८ करोड म्याद नाग्दासमेत भुक्तानीमा आलटाल गरेपछि उत्पादनमै प्रतिबन्ध
चितवन, ५ चैत (दैनिकी)
आन्तरिक राजस्व कार्यालय, चितवनले भरतपुरमा रहेको माउन्ट एभरेस्ट ब्रुअरीको उत्पादनमा प्रतिबन्ध लगाउने भएको छ । एभरेस्ट र गोल्डेन टाइगर बियर उत्पादन गर्दै आएको सो कम्पनीले ठूलो करदाता कार्यालयलाई तिर्नुपर्ने बक्यौता रु. २८ करोड म्याद नाग्दासमेत भुक्तानीमा आलटाल गरेपछि उत्पादनमै प्रतिबन्ध लगाउन लागेको हो । कर कार्यालय ललितपुरले आन्तरिक राजस्व कार्यालय, भरतपुरलाई उद्योगमा उत्पादन प्रतिबन्ध लगाई बक्यौता असुलीका लागि यसै हप्ता पत्राचार गरेको छ ।
राजस्व कार्यालय, भरतपुरले पनि बक्यौता तिर्नका लागि पटकपटक आग्रह गरेको भए पनि बेवास्ता गरेको सो कार्यालयले जनाएको छ ।कर कार्यालय ललितपुरले दबाब दिएपछि उक्त ब्रुअरीले मासिक रु. ४० लाखका दरले बक्यौता भुक्तानी गर्दै आएको थियो । वि.सं. २०४७ देखि विभिन्न ब्रान्डका बियर उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट ब्रुअरीले सञ्चालनमा कठिनाइ आएपछि सानमिगल बियरको ब्रान्ड गोरखा ब्रुअरीलाई बिक्री गरेको थियो । माउन्ट एभरेस्ट ब्रुअरीले बक्यौता नतिरेपछि विद्युत् प्राधिरकणले समेत विद्युत् लाइन काट्न ताकेता गरेको छ । प्राधिकरणलाई रु. ७० लाखभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
यस विषयमा ब्रुअरीका आधिकारीले कुनै जानकारी दिन चाहँदैनन् ।यसैगरी आन्तरिक राजस्व कार्यालय, भरतपुरमा रु. १० लाखभन्दा बढी बक्यौता भई पटकपटक ताकेता गर्दासमेत भुक्तानी नगर्ने २० वटा उद्योग एवम् र्फमलाईसमेत सो कार्यालयले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।
होटेल मचान, गैंडा वाइल्ड लाइफ क्याम्प, डालिमा रेस्टुरेन्ट, पूर्ण स्टोर्सलगायत विभिन्न कन्स्ट्रक्सन कारबाहीको सूचीमा छन् । ती कम्पनीलाई अनुरोध, ताकेता र चेतावनी दिँदासमेत बक्यौता भुक्तानीमा आलटाल गरेपछि चलअचल सम्पत्ति रोक्का गरी बक्यौता असुल गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks