Loving nepal news

Saturday, March 20, 2010

कोइरालाको निधनले संविधान निर्माणमा अपूरणीय क्षति: प्रचण्ड

काठमाडौं, ७ चैत (दैनिकी)

एकीकृत नेकपा (माओवादी)ले पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निधनले शान्ति र संविधान निर्माण प्रक्रियाका साथै आजको देशको संवेदनशील संक्रमणकाल पूरा गरी अगाडि बढ्ने सन्दर्भमा अपूरणीय क्षति भएको जनाएको छ। सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा आज जारी शोक वक्तव्यमा नेपालको लोकतान्त्रिक आन्दोलनका एक शिखर व्यक्तित्व, ऐतिहासिक शान्ति र संविधान निर्माण प्रक्रियाका एक प्रमुख सर्जक र स्तम्भ रहनु भएका सभापति कोइरालाको निधनले स्तब्ध तुल्याएको उल्लेख गरिएको छ। वक्तव्यमा भनिएको छ – निरङ्कुश जहानीया राणाशासनका विरुद्धको सङ्घर्षसँगै राजनैतिक यात्रा आरम्भ गरेका गिरिजाप्रसाद कोइरालाको जीवन र व्यक्तित्व तमाम उतारचढाव, विवाद, घुम्ती र मोडहरू हुँदै पछिल्लो शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय गणतन्त्र घोषणाको नेतृत्वसम्म आइपुग्दा देशकै एक परिपक्व संरक्षकका रुपमा स्थापित हुन पुग्यो।
नेपाल र नेपाली जनताको ऐतिहासिक आवश्यकता र आकांक्षा अनुसार शान्ति र संविधान निर्माण प्रक्रियालाई निस्कर्षमा पुर्‍याई नयाँ र समृद्ध नेपालको विकासमा अगाडि बढ्नु नै कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउँदै अध्यक्ष प्रचण्डले शोकको यो घडीमा संयम, धैर्य र एकताको प्रदर्शन गर्न सबै राजनैतिक दल, नागरिक आन्दोलन र आम जनसमुदायसँग विशेष अपील गर्नुभएको छ।
अध्यक्ष प्रचण्डले नेपालको विद्यमान शान्ति र संविधान निर्माण प्रक्रियाको अर्को प्रमुख सर्जक र सहयात्रीका हैसियतले उहाँको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र राजनैतिक सहकर्मीहरूप्रति समवेदना प्रकट गर्नुभएको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks