सुदिप श्रेष्ठ, इलाम २३ फागुन
विश्वमै दुर्लभ सेतो दुम्सी इलामको शान्तिडाँडामा फेला परेको छ । शान्तिडाँडा ३ का सोम सुवेदीले दुइ साताअघि बारीमा थापेको पासोमा सेतो दुम्सी फेला पारेका हुन्। पहिले-पहिले पनि दुम्सी पासोमा पार्ने गरेको तर यसपालि अनौठो प्रजातिको दुम्सी फेला पारेपछि अनुसन्धानका लागि घरमा ल्याएको उनले बताए । फेला परेको दुम्सीलाई अहिले उनले खोर बनाएर घरमा पालिरहेका छन् । बारी नजिक करिब एक किलोमिटर टाढा रहेको जंगलमा यो दुम्सी बसेको हुनसक्ने आशंका उनले गरेका छन् ।
सन् १८८५ मा अमेरिकामा एउटा सेतो दुम्सी फेला परेको त्यहाँबाट प्रकाशित न्यूरोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । त्यसयता हालसम्म गरिएका विभिन्न अध्ययनमा विश्वमा कालो दुम्सीमात्र फेला परेका छन् ।
सेतो दुम्सी फेला परेपछि एक हप्ताअघि सुवेदीले जिल्ला वन कार्यालयका प्रमुख सुरेन्द्रलाल कर्णलाई खबर गरेका थिए । त्यसपछि दुम्सीको अवलोकनका लागि गएका कर्णले यस्तो प्रजातिको दुम्सी अहिलेसम्म कतै नभेटिएको बताएका छन् । विश्वमा भेटिएका २४ प्रजातिका दुम्सीमध्ये हालसम्म कालो रंगका मात्र रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरेका छन् ।
दुम्सीको शरिर पूर्ण रुपमा सेतो रंगको छ । हालसम्म भेटिएका कालो दुम्सीको काँडाको केही भागमा मात्र सेतो रंग मिसिएको छ । दुम्सीको तौल ८ किलोग्राम छ । यसको लम्बाई एक हातभन्दा लामो छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks