Loving nepal news

Tuesday, March 2, 2010

यो वर्ष स्वीसको दश करोड अनुदान खोटाङमा

डिएम चाम्लिङ र्राई/खोटाङ १९ फागुन

नेपालमा विकास लक्ष्य, गरिवी निवारण र प्रभावकारी योगदान पुर्‍याउने उद्देश्यका साथ स्वीस सरकार विकास सहयोग एस्डिसीले खोटाङमा आर्थिक वर्ष २०६६/०६७ का लागि दश करोड रुपैया बढि आर्थिक अनुदानमा परियोजना सञ्चालन गर्ने भएको छ ।
विभिन्न आठवटा शिर्षकमा एकै साथ हात हालेको स्वीसले वुइपा गाविसमा आफ्नै भवन बनाउने प्रारम्भीक कार्य सुरु गरेको जानकारी गराएको छ । यता लक्षित वर्गमा स्वीसको कार्यक्रमले प्रभाव नपारेको भन्दै एकीकृत नेकपा माओवादी खोटाङले स्वीसको कार्यक्रम प्रति असहयोग गर्ने जनाएको छ । खोटाङमा विकास आवश्यक परेको भएपनि यो संस्था एनजीओ करण भएको प्रति माओवादीले आपत्ती जनाएको छ ।

माओवादीका जिल्ला सहर इञ्चार्ज उद्धिम वान्तवा -मुक्ति ले कर्मचारी छनौट गर्दा दल,वलको भरमा गरिएको र दक्ष मानिसहरु पछि परेको भन्दै यस संस्थाले माछा मार्ने कला नसिकाई माछा खुवाउने प्रवृत्ति देखाएको भन्दै आपत्ती जनाउनुभएको हो । स्वीसले खोटाङमा जिल्ला सडक सहयोग कार्यक्रम, झेलुङ्गे पुल कार्यक्रम, नेपाल स्वीस सामुदायिक वन परियोजना, अशल शासन परियोजना, जीवनस्तर सुधारका लागि स्थानीय पु्र्वाधार कार्यक्रम, दिगो भू-व्यवस्थापन कार्यक्रम, गरिवी न्यूनीकरणको लागि तरकारी वीउ प्रवर्द्धन र पहाडि मकै अनुसन्धान परियोजना भनेर आठवटा परियोजना सञ्चालन गर्दैछ ।

जसमा नेपाल सरकारको तर्फाट ९ करोड ९८ लाख रुपैया र एसडिसीको तर्फाट दश करोड ३२ लाख १४ हजार रुपैयामा कार्यक्रम सञ्चालन गर्न लागेको हो । खोटाङको राजनैतिक दल, प्रशासन र जिविस संग स्वीसले गरेको अन्तरक्रियामा परियोजनाप्रति दल सकारात्मक हुन आग्रह समेत गरिएको छ । जिल्लाको विकासमा सडकनै प्रमुख हुने हुँदा खोटाङमा आएको रकम दुरुपयोग हुन नदिन सबै मिलेर अघि बढ्न स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीले आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks