बैतडी, २७ फागुन(दैनिकी)
नोबेल सपी प्रा.लि.का कर्मचारीबाट बैतडीका महिलाहरू ठगिएका छन्। नोबेल सपीका कर्मचारीले प्रलोभन देखाइ तीन वर्ष अगाडि गरगहना बेचेर तथा ऋण निकालेर सदस्य बनेका महिलाहरू ठगिएका हुन्। बैतडी सदरमुकाम गोठालापानीमा नोबेल सपीले पसल स्थापना गरी तीन वर्षअघि आफ्नो काम सुरु गरेको थियो। प्रलोभनमा परेर दशरथचन्द नगरपालिका र वरपरका गाउँ विकास समितिका महिलाहरू सपीमा धमाधम सदस्य बनेका थिए। यस्तै प्रलोभनमा परेर गुरुखोलाकी भुरी लुहारले आफ्नो गरगहना बेचेर तीन वर्ष अगाडि सपीमा रु. ७ हजार जम्मा गरेर सदस्यता लिएका थिए। गुरुखोलाकै सरस्वती भट्टले पनि भुरी जस्तै गहना बेचेर रु. ७ हजार जम्मा गरेका थिए।
तर उनीहरूजस्तै बैतडीका ३५० जना महिलाले कम्पनीले भनेअनुसारका सुविधा पाएका छैनन्। उनीहरू आफ्नो लगानीमात्रै फिर्ता गर्न दिनहुँ प्रशासन धाइरहेका छन्। नोबेल सपीमा सदस्य बनेपछि मासिक रु. ५०० बोनस, सदस्यको मृत्युपछि रु. ७५ हजार दिने, एकजना नयाँ सदस्य थपेपछि रु. ८०० पाइने, तीन पुस्तासम्म सदस्यता रहने तथा नोबेल सपीको पसलबाट परिचयपत्रको आधारमा दैनिक उपभोग्य सामग्री सूपथ मूल्यमा पाउने भनेपछि महिलाहरू आकर्षित भएका थिए। नोबेल सपीमार्फत बैतडीको गोठलापानीमा सञ्चालित पसलबाट दुई दिनदेखि सेयर सदस्यहरूलाई गुणस्तरहीन सामान वितरण भइरहेको छ। रु. ७ हजार ३४५ जम्मा गरेर सेयर सदस्य बनेका अधिकांश महिलाले चार गुणा महङ्गो मूल्यमा गुणस्तरहीन सामान लगिरहेको गुनासो गरेका राससले जनाएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks