कोइरालाले विगतमा यो सरकार हटोस् भन्ने चाहेको र प्रधानमन्त्री नेपाल स्वयम् सरकारबाट हट्न चाहेको दाबी
पोखरा १५ चैत्र (दैनिकी)
एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बावुराम भट्टर्राईले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने मागमा पुनः जोड दिनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ तमुवान समितिद्वारा आइतबार पोखरामा आयोजित पत्रकारसम्मेलनमा नेता भट्टर्राईले गिरिजाप्रसाद कोइरालाले पनि विगतमा यो सरकार हटोस् भन्ने चाहेको र प्रधानमन्त्री माधवकुमार नेपाल स्वयम् सरकारबाट हट्न चाहेको दाबी गर्नुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रमा गिरिजाप्रसाद कोइरालाले यो सरकार हटोस् भन्नुहुन्थ्यो, जसको साक्षी झलनाथ खनाल पनि हुनुहुन्छ"- नेता भटर्राईले भन्नुभयो । उहाँले विगतमा आफूहरूले राज्य पुनःसंरचना आयोग बनाउन संयोजकसमेत तोकेको प्रसङ्ग उठाउँदै आवश्यक भए त्यस्तो आयोग बनाउन सकिने तर संवैधानिक समितिको धारणासँग बाझिन नहुनेमा जोड दिनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्रले धमिलो पानीमा माछा मार्न खोजेको तर उनको हातमा माछा हैन गंगटो पर्ने बताउनुभयो ।
एक प्रश्नको उत्तरमा उहाँले आफूहरूले जातीयताको आधारमा नभई राष्ट्रियताको आधारमा सङ्घीय संरचना बनाउनूपर्छ भनेको उल्लेख गर्दे बरु भाषा, पोशाक, संस्कृतिमा उत्पीडनमा नपरेका क्षेत्री, बाहुन समाजको सक्रियताले जातीय दङ्गा भड्काउन खोजेको आरोप लगाउनुभयो । उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता रहेको पनि स्पष्ट गर्नुभयो । क्रान्तिकारी पत्रकार सङ्घ तमुवान समितिका संयोजक एलपी बञ्जराको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks