काठमाडौं, ७ चैत (दैनिकी)
नेपाली काङ्ग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनका मूर्धन्य नेता, पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आकस्मिक निधनबाट सिङ्गो देश, नेपाली जनता र पार्टी पङ्क्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ। स्वर्गीय कोइरालाकी छोरी सुजाता कोइरालाको निवास मण्डिखाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यस दुःखद घडीमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाई, देशविदेशका मित्र र शुभेच्छुकहरू तथा पार्टीका साथीलाई धैर्यधारण गर्न आग्रह गरिएको छ।
बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रिय जीवनमा स्वर्गीय कोइरालाको प्रभाव र प्रेरणा अभूतपूर्व रहेको जनाउँदै भनिएको छ– …लोकतान्त्रिक आन्दोलनलाई अथक नेतृत्व गर्ने र हिंसात्मक द्वन्द्वले आहत भएको देशलाई हिंसात्मक मुठभेडबाट जोगाएर शान्तिप्रक्रियातर्फ लैजाने अग्रणी राष्ट्रिय नेता स्वर्गीय कोइरालाप्रति नेपाली काङ्ग्रेसको यो बैठक हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछ।'
राष्ट्रियता, लोकतन्त्र, समाजवाद र मुलुकमा स्थायी शान्ति स्थापनाका निम्ति श्री कोइरालाले लिनुभएको अग्रसरतालाई तार्किक निष्कर्षमा पुर्याउन तथा राष्ट्रिय एकता, सहमति र सहकार्यको राजनीतिलाई मूर्तरूप दिन यो बैठक पार्टी पङ्क्तिको सम्पूर्ण एकता शक्तिसहित क्रियाशील रहने सङ्कल्प रहने व्यक्त गर्दछ– विज्ञप्तिमा उल्लेख छ।
बैठकले पार्टीको अमूल्य निधि र धरोहर स्वर्गीय कोइरालाको आकस्मिक निधनको यो दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना गरेको छ।
पार्टी सभापति कोइरालाको चिकित्सामा अहोरात्र संलग्न र सेवा सुविधा पुर्याउने देशभित्र र बाहिरका चिकित्सक मित्रहरू, नर्स, परिचारिका, सहिद गङ्गालाल हृदय केन्द्र परिवार, सुरक्षाकर्मी तथा अन्य सहयोगीप्रति पनि बैठकले आभार प्रकट गरेको छ।
चिकित्सा अवधिभर उहाँको स्वास्थ्यलाभको कामना गर्ने देशभित्र र बाहिरका सम्पूर्ण दिदीबहिनी, दाजुभाईप्रति बैठकले धन्यवाद व्यक्त गर्दै स्वर्गीइ कोइरालाको स्वास्थ्यप्रति निरन्तर चिन्ता र चासो प्रकट गर्दै उहाँको स्वास्थ्यलाभको कामना गर्ने मुलुकभरका सबै पार्टीका नेता, कार्यकर्ताप्रति आभार व्यक्त गरेको छ।
साथै उहाँको औषधि उपचार र अन्य सुविधा निम्ति सरकारबाट प्राप्त सहयोग र समर्थनका लागि पनि बैठकले सरकारलाई धन्यवाद दिएको छ।
बैठकले स्वर्गीय कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय विपीनगर हुँदै ८ बजेदेखि दिउँसो २ बजेसम्म दशरथ रङ्गशालामा राखिने र २ बजेपछि रङ्गशालाबाट नयाँसडक गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने निर्णय गरेको छ।
बैठकले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि र सम्मान प्रकट गर्न पार्टीभित्र आजदेखि चैत १९ गतेसम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयहरूमा पार्टीको झण्डा झुकाउने र कुनै पनि अन्य औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
साथै, यही चैत १३ गतेसम्म पार्टीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण कार्यालय र भ्रातृ संस्थाका कार्यालयहरू बन्द रहने, १९ गतेका दिन सबै जिल्लामा श्रद्धाञ्जलिसभा आयोजना गर्ने र काठमाडौँ उपत्यकाका लागि केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा दिउँसो ११:३० बजे खुलामञ्चमा श्रद्धाञ्जलिसभा गर्ने निर्णय गरेको छ।
साथै पार्टीका केन्द्रीय कार्यालयसहित देशभरिका पार्टी कार्यालयमा १३ दिनसम्म शोकपुस्तिका राख्ने र १३ औँ दिनका दिन ७५ वटै जिल्लामा अन्तिम संस्कार पछिको भष्मप्रवाह गर्नेसमेत बैठकले निर्णय गरेको छ। बैठक पार्टीका कार्यवाहक सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks