म्याग्दी, ११ चैत (दैनिकी)
पर्यटन वर्षको सुरुवातसँगै म्याग्दी जिल्लावासी पर्यटन व्यवसायमा आकर्षित भएका छन्। म्याग्दीको भौगोलिक अवस्था र प्राकृतिक सुन्दरताप्रति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्यटन व्यवसायको राम्रो सम्भावना भएपछि पर्यटकलाई सुविधा प्रदान गरेर आर्थिक लाभ लिनका लागि लगानीकर्ता पर्यटन व्यवसायतर्फ आकर्षित भएका बेनी होटल व्यवसायी सङ्घकी अध्यक्ष विमला गौचन बताउनुहुन्छ।
स्थानीयवासीको पर्यटन व्यवसायमा देखिएको आकर्षणसँगै म्याग्दीका विभिन्न स्थानमा पर्यटकको घुइँचो लागेको छ। पर्यटकलाई आकर्षित पार्न विभिन्न पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्ने काममा स्थानीयवासी अग्रसर बनेका छन् । स्थानीयवासीको अगुवाइमा शिखको फलाते डाँडादेखि खोप्रा लेक, खयरबाराही ताल, अन्नपूर्ण आधार शिविर, नारच्याङ, दाना हुँदै मुस्ताङ जाने नयाँ पर्यटकीय पदमार्ग सञ्चालनमा आएको छ।
पदमार्गको विभिन्न स्थानमा सुविधासम्पन्न होटल खुलेका छन्। शिख र नारच्याङका बासिन्दाले पर्यटकका लागि होमस्टेको व्यवस्था गरेका छन्। प्राकृतिक उपचारस्थल, सिङ्गा तातोपानी र सदरमुकाम बेनीमा पनि होटल तथा लज खुल्ने र पुराना होटेलले सुविधा वृद्धि गर्ने क्रम बढेको छ। म्याग्दी प्राकृतिक सुन्दरताको भरिपूर्ण रहेकाले यहाँ पर्यटन व्यवसायको ठूलो सम्भावना भएको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानिया बताउनुहुन्छ।
घारा गाविसमा पर्ने पुनहीन र घोरेपानी विश्वकै १० उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्गभित्र पर्छ। यहाँबाट सूर्योदय, सूर्यास्तको राम्रो दृश्य र मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks