गिरिजाबाबुको निधनले देशले एक निडर राजनैतिक महायोद्धालाई गुमाउनु परेको छ
काठमाडौं, (दैनिकी)
काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शनिवार मध्यान्न १२ बजेर ११ मिनेट जाँदा देहावसन भएको छ । प्रजातन्त्रका सेनानी, प्रजातन्त्रका धरोहर गिरिजाप्रसाद कोइरालाको ८६ बर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । लामोसमयदेखि दम र फोक्सोको संक्रमणबाट पीडित कोइरालाले छोरी सुजाता निवास मण्डिखाटारमा प्राण त्याग गरेका थिए । शनिवार बिहानै देखी उँहाको स्वास्थ्यस्थिति चिन्ताजनक देखिएको थियो । श्रोतका अनुसार कोइराला गएराति ११ बजेदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । काँग्रेस उपसभापति शुसील कोइराला, सशांक, शेखर, प्रकाश,मनिषा कोइराला लगायतका पारिवारिक सदस्यहरु सुजाता निवासमा नै रहेका थिए ।
आज विहान देखि दिसा–पिसावमा समेत समस्या देखिएकाले उहाँ चिकित्सकहरुको निरन्तर अवलोकनमा हुनुहुन्थ्यो। स्वासप्रस्वास प्रक्रियामा पनि थप जटिलता उत्पन्न भएकाले अक्सिजनको मात्रा थप्ने कार्य भइरहेकोमा उँहाको देहावशन भएको छ।
केही समय अघिमात्र कोइरालाको स्वास्थ्यस्थिति बुझ्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष डा.बाबुराम भट्टराई मण्डिखाटार पुग्नुभएको थियो ।
कोइरालाको देहावसन पछी अहिले नेपाली काङ्रग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक, उच्च पदाधिकारीहरू, सञ्चारकर्मी र ठूलो सङ्ख्यामा सर्वसाधारण मण्डिखाटारमा आउने क्रम बढेको छ ।
वि.सं. २००३ देखि २०६२/६३ सम्म भएका सबै लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले निर्वाह गर्नुभएको सक्रिय र नेतृत्वदायी भूमिका हाम्रो इतिहासबाट कहिल्यै मेटिने छैन । एकजना अनुभवी, दृढ र कहिल्यै नथाक्ने नेताका रुपमा आफ्नो छ दशकभन्दा लामो राजनीतिक जीवनयात्रामा मुलुकका लागि गिरिजाप्रसाद कोइरालाले पुर्याएको योगदानका लागि मुलुक उहाँप्रति सधैँ ऋणी रहिरहनेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks