संजय सौगात बुटवल,५ फागुन
“स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार” भन्ने मूल नाराका साथ बुटवलमा बिहीबारदेखि संचालन हुने व्यापार मेला तथा अटो प्रदर्शनीको तयारी पुरा भएको छ। मेलाको उद्घाटन संविधान सभाका अध्यक्ष सुवाशचन्द्र नेम्बाङले गर्नुहुने आयोजक रुपन्देही व्यापार संघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
बुटवल मण्डपमा फागुन १६ गतेसम्म संचालन हुने प्रदर्शनीमा लक्ष्य अनुरुप स्टल दर्ता भएको संघले बताएको छ। संघका अध्यक्ष टंक पोखरेलका अनुसार प्रदर्शनीका लागि अटोतर्फ ५३ फर्मका झण्डै २ सय स्टल दर्ता भएका छन्। त्यस्तै ३ सय भन्दा बढी अन्य व्यावसायिक स्टल दर्ता भएको उहाँले बताउनुभयो। यस पटकको प्रदर्शनीमा होटल, बैंकिङ फाईनान्स र सहकारी लगायतका वित्तिय संस्थाहरुको स्टललाई समेत एउटै क्षेत्र निर्धारण गरी व्यवस्थित गरिने भएको छ। संघका अनुसार होटल तथा रेष्टुरेन्टतर्फ २५ स्टल दर्ता भएका छन्। त्यस्तै बैंक तथा वित्तिय क्षेत्रका १५, कृषि र पर्यटन क्षेत्रका १२ वटा स्टल दर्ता भएको अध्यक्ष पोखरेलले बताउनुभयो।
खेलकुद क्षेत्रको विकासका लागि मेलास्थलमा राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालन गरिने र जसमा पाँच विकास क्षेत्रका क्षेत्रीय टिम, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी आठ टीमले प्रतिष्पर्धा गर्ने भएका छन्। त्यस्तै मेलामा कृषि, पर्यटन र व्यापार व्यवसाय प्रवर्द्धन लगायतका विषयमा विज्ञहरुसँग अन्तर्क्रिया, गोष्ठी र सेमीनारको समेत आयोजना गरिने भएको छ।
शहरी क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने र ग्रामीण क्षेत्रमा कृषि उत्पादनलाई प्रोत्साहन गरी बजार प्रवर्द्धन गर्ने लक्ष्यमा मेला सफल हुने विश्वास आयोजकहरुले लिएका छन्। मेलामा सांस्कृतिक कार्यक्रम मुख्य आकर्षण रहने छ भने बालबालिकाहरुको लागि बाल उद्यान विशेष आकर्षण रहने छ। स्टार बियरले सांस्कृतिक कार्यक्रममा मुख्य प्रायोजन गर्ने भएको छ। दोहोरी गीत प्रतियोगितामा सिद्धार्थ बैंकले मुख्य प्रायोजन गर्ने भएको छ। मेलाको पूर्व सन्ध्यामा भोलि विभिन्न जातजाती र संस्कृति झल्किने जनचेतनामूलक र्याली निकालिने भएको छ। विहान ११ बजे बुटवल मण्डपबाट सुरु हुने र्याली बजार परिक्रमा गरी मेलास्थल बुटवल मण्डपमै पुगेर समापन हुने र र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने बताइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks