Loving nepal news

Sunday, February 21, 2010

कुटो कोदालो चलाउने हातहरु ईमेल च्याटिङ्गमा

डिएम चाम्लिङ/खोटाङ, फागुन ९ गते

एक वर्ष अगाडि सम्म कम्प्युटर छुन नपाएका ग्रामीण क्षेत्रका गाउँलेहरु विद्युत् विस्तार हुने क्रम संगै कुटो कोदालो र घाँसदाउरा छाडेर कम्प्युटर चलाउन थालेका छन् । विद्युत्को केन्द्रिय प्रशारण लाईन र स्थानीय स्तरमै उत्पादन गरिएको पेल्ट्रिक सेटले गाउँघर झिलिमिली भएका त छन् नै घरघरमा कम्प्युटर राखेर भएपनि गाउँलेहरु प्रविधिलाई पछ्याईरहेका छन् ।

ठाउँ ठाउँमा त सूचना प्रविधिको विकास संगसंगै ईमेल, ईन्टरनेटमा पनि गाउँलेहरु रमाउन थालेका छन् । रोजगारको सिलशिलामा घरबाहिर रहेका आफन्त सम्म चिठ्ठीको सहायताले एक दुई महिनामा भेट हुने गरेकोमा अहिले ईमेल ईन्टरनेटको प्रयोग गरि छिनभरमै सम्पर्क हुनेगरेपछि सुविधा पाएका छन् गाउँलेहरुले । ईमेल ईन्टरनेटबाट सस्तो र आवश्यक जानकारी पाउन सकिने भएपछि ग्रामीण ईलाकाहरुमा यसको लोकप्रीयता बढेर गएको छ ।

प्रविधि र विकासकै कारणले होला अहिले हुलाकमा पत्रपत्रिका बाहेक चिठ्ठीपत्रहरु आउनेक्रम पहिला भन्दा रोकिएको छ भन्नुहुन्छ सिम्पानी ईलाका हुलाकका खरिदार नरेन्द्र खड्का । नेपाल टेलिकमको स्काई फोन र सिडिएमए फोनबाट सस्तोमा ईन्टरनेट सेवा पाईन थालिएपछि गाउँगाउँमा कम्प्युटर ईन्स्टीच्युट र घरघरमा ईन्टरनेट सञ्चालन गर्न सजिलो भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

जिल्लाको उत्तरी जाल्पा, पाथेका, सप्तेश्वर, बाक्सिला त्यस्तै पश्चिमी हलेशी, अर्खौले दक्षिणी सिम्पानी, लिच्कीराम्चे, खोटाङ चिसापानी लगायतका ग्रामीण गाउँका गाउँले कृषकहरु नियमित कामलाई थााति राखेर एक समय कम्प्युटरमा झुम्ने गरेका हुन् । समुदायको सक्रियता, गाउँ विकास समितिको अनुदान र दातृ निकायको आर्थिक सहयोगमा अहिले जिल्लाका धेरै ठाउँमा वत्ति बलेको छ भने आवश्यक्तालाई पुरा गर्दै ठाउँ ठाउँमा कम्प्युटर कक्षा समेत खोलिएको सिम्पानीका कम्प्युटर प्रशिक्षक भानु प्रधानले बताउनुभयो ।

जिल्लाको जाल्पा, बाक्सिला, सप्तेश्वर, सिम्पानी, हलेशी, खोटाङ लगायतका गाविसहरुमा गाउँलेहरुलाई कम्प्युटर सिक्ने अवसर प्रदान गरिएको छ । नियमित रुपमा घरखेती, घाँसदाउरा, खेतालो र गोठालो गदै जीवन गुजारा गर्दै आएका गाउँले कृषकहरु समेत दिनको दुई/चार घण्टा समय निकालेर कम्प्युटर सिक्ने गर्दछन् । आफ्नै श्रमबाट उत्पादित कोदाको ढिँडो र गुन्द्रुक खाएर सस्तोमा कम्प्युटर सिक्न पाएका गाउँले कृषक र विद्यार्थीहरुले पनि निकै राहत महशुष गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks