काठमाडौं, ६ फागुन (दैनिकी)
एमाले केन्द्रीय कमिटीमा अध्यक्ष झलनाथ खनालले सरकार "राष्ट्रिय सहमति" जुटाउन असफल भएको भनी दिएको प्रतिवेदनमाथि आजदेखि छलफल सुरु हुँदैछ। बैठकमा खनालको प्रतिवेदनमाथि छलफल हुँदैछ।
बुधबार सुरु केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत खनाल प्रतिवेदनमा पार्टी र सरकारबीच समन्वय हुन नसकेको उल्लेख गरेका छन्।
१० पाने राजनीतिक प्रतिवेदनमा पार्टीले संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समेत औंल्याइएको छ। पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया अघि बढाउने चुनावले गुटगत आधार लिएको समेत स्वीकार गरिएको छ।
संयुक्त सरकारको ठूलो आकार, मन्त्रीहरुको अशोभनीय व्यवहार र स्वच्छन्दता, पछिल्लो समय खस्कँदो शान्ति सुरक्षाको अवस्था सरकारका कमजोरी भएको प्रतिवेदनमा छ।
सरकारले अयोग्य लडाकुको बहिर्गमन र विशेष सुरक्षा योजनालाई सरकारका उपलब्धि भनी अध्यक्ष खनालले प्रशंसा गरेका छन्। "यो संयुक्त सरकारले आफ्नो गठनताका आफ्ना प्राथमिकतामा राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति कायम गर्ने, शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याउने र समयमै संविधान निर्माण गर्ने कुरा अघि सारेको थियो," प्रतिवेदनमा छ, "माओवादीको गतिरोधले ती लक्ष्यहरू पूर्ति हुन सकेका छैनन्।"
पार्टीभित्र देखिएको विवादलाई इंगित गर्दै प्रतिवेदनमा "आत्मकेन्द्रित व्यक्तिवाद र त्यसबाट सिर्जित दक्षिणपन्थी चिन्तन र प्रवृत्ति आन्तरिक रुपमा पार्टीको अग्रगतिको प्रमुख बाधकका रूपमा देखा परेको" औंल्याइएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks