Loving nepal news

Tuesday, February 23, 2010

स्वीस सरकारको १० करोड बढि विकास अनुदान

डिएम चाम्लिङ राई/खोटाङ ११ फागुन

नेपालमा विकास लक्ष्य, गरिवी निवारण र प्रभावकारी योगदान पुर्‍याउने उद्देश्यका साथ स्वीस सरकार विकास सहयोग एस्डिसीले खोटाङमा आर्थिक वर्ष २०६६/०६७ का लागि दश करोड रुपैया बढि आर्थिक अनुदानमा परियोजना सञ्चालन गर्ने भएको छ।
विभिन्न आठवटा शिर्षकमा एकै साथ हात हालेको स्वीसले वुईपा गाविसमा आफ्नै भवन बनाउने प्रारम्भीक कार्य सुरु गरेको जानकारी गराएको छ। यता लक्षित वर्गमा स्वीसको कार्यक्रमले प्रभाव नपारेको भन्दै एकीकृत नेकपा माओवादी खोटाङले स्वीसको कार्यक्रम प्रति असहयोग गर्ने जनाएको छ।
खोटाङमा विकास आवश्यक परेको भएपनि यो संस्था एनजीओ करण भएको प्रति माओवादीले आपत्ती जनाएको छ। माओवादीका जिल्ला सह ईञ्चार्ज उद्धिम वान्तवा (मुक्ति) ले कर्मचारी छनौट गर्दा दल,वलको भरमा गरिएको र दक्ष मानिसहरु पछि परेको भन्दै यस संस्थाले माछा मार्ने कला नसिकाई माछा खुवाउने प्रवृत्ति देखाएको भन्दै आपत्ती जनाउनुभएको हो।
स्वीसले खोटाङमा जिल्ला सडक सहयोग कार्यक्रम, झेलुङ्गे पुल कार्यक्रम, नेपाल स्वीस सामुदायिक वन परियोजना, अशल शासन परियोजना, जीवनस्तर सुधारका लागि स्थानीय पूर्वाधार कार्यक्रम, दिगो भू–व्यवस्थापन कार्यक्रम, गरिवी न्यूनीकरणको लागि तरकारी वीउ प्रवर्द्धन र पहाडि मकै अनुसन्धान परियोजना भनेर आठवटा परियोजना सञ्चालन गर्दैछ।
जसमा नेपाल सरकारको तर्फबाट ९ करोड ९८ लाख रुपैया र एसडिसीको तर्फबाट दश करोड ३२ लाख १४ हजार रुपैयामा कार्यक्रम सञ्चालन गर्न लागेको हो। खोटाङको राजनैतिक दल, प्रशासन र जिविस संग स्वीसले गरेको अन्तरक्रियामा परियोजनाप्रति दल सकारात्मक हुन आग्रह समेत गरिएको छ। जिल्लाको विकासमा सडकनै प्रमुख हुने हुँदा खोटाङमा आएको रकम दुरुपयोग हुन नदिन सबै मिलेर अघि बढ्न स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारीले आग्रह गर्नुभयो।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks